Kathmandu Press

केही संस्थाको बेइमानीका कारण सहकारीमाथि अविश्वास बढ्योः अध्यक्ष कँडेल

विश्वव्यापी रुपमा आर्थिक मन्दी रहेको, अर्थतन्त्रमाथि नै संकटको अवस्था आएको अवस्थामा सूचकांकले सुधार भएको देखाए पनि व्यवहारमा त्यस्तो नभएको उनको भनाइ छ।
केही संस्थाको बेइमानीका कारण सहकारीमाथि अविश्वास बढ्योः अध्यक्ष कँडेल

काठमाडौं, मंसिर १५ : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले केही संस्थाहरुको बेइमानीका कारण सहकारीमाथि अविश्वास बढेको बताएका छन्।

आज काठमाडौंमा आयोजित ‘सहकारीको पैसा कहाँ गयो’ विषयक एक दिने सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

Hardik ivf

‘सहकारीमा मात्रै नभएर सिङ्गो वित्तीय क्षेत्रमै समस्या छ। केही संस्थाहरुको बेइमानीका कारणले सहकारीमाथि अविश्वास बढेको छ। अचानक बचत फिर्ता लिन आउने क्रम छ,’ उनले भने, ‘सहरी क्षेत्रमा यसको ठूलो प्रभाव छ । उत्पादन, रोजगारी सबै ठप्प छ । यसले पनि समस्या बढेको छ।’

विश्वव्यापी रुपमा आर्थिक मन्दी रहेको, अर्थतन्त्रमाथि नै संकटको अवस्था आएको अवस्थामा सूचकांकले सुधार भएको देखाए पनि व्यवहारमा त्यस्तो नभएको उनको भनाइ छ।

‘सहकारीका सदस्यहरुको व्यवसाय, व्यापार सबै ठप्प छ । राम्रो र असल भनिएका ऋणीहरुले पनि ऋण तिर्न सकेका छैनन्। अर्कोतर्फ अर्थतन्त्रको समस्याको कारणले पैसा फिर्ता लिएर राख्ने गरेको पाइन्छ’ उनले भने ।

पछिल्लो अवस्थालाई सहकारीसँग मात्रै होइन, सिङ्गो अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने उनले बताए। युवाहरु बाहिर जाने क्रमसँगै ठूलो मात्रामा देशको पैसा बाहिरिएको उनले जनाए।

‘हामीले नगरपालिका क्षेत्रभित्र बचत र ऋणको नयाँ संस्था दर्ता रोक्न पर्यो भनेका थियौं। त्यसमा मन्त्रिपरिषद्बाट निर्णय भएर रोक्ने काम भएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा सहकारी क्षेत्रमा देखा परेको तरलता अभावको समस्या एउटा र केही संस्थाहरुको बदमासीले गर्दा अविश्वास पैदा भएको छ । विश्वास फिर्ता गर्न धेरै काम राज्यले गर्नुपर्ने छ।’

सहकारीको मूल सिद्धान्त अनुसार सहकारी सञ्चालन गर्ने कुरामा ध्यान दिने हो भने पछि गएर तीनखम्बे अर्थनीतिमा एउटा महत्वपूर्ण खम्बाको रुपमा सहकारी अगाडि आउँछ भन्ने विश्वास लिएको उनले बताए।

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्