‘एक चिहान’ उपन्यासमा आधारित नाटक मंसिर १८ देखि नाचघरमा मञ्चन गरिने
खासगरी कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर उक्त नाटक मञ्चन गर्न लागिएको हो।काठमाडौं, मंसिर १५ : हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक यही मंसिर १८ गतेदेखि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा मञ्चन गरिने भएको छ। नाटक पुस १२ गतेसम्म मञ्चन हुने नाचघरले जनाएको छ। उक्त नाटकका लागि बजार व्यवस्थापनको जिम्मेवारी सम्हालेका अनुपम शर्माका अनुसार मंसिर १८ देखि पुस १२ काे अवधिमा परेका सार्वजनिक बिदामा भने नाटक मञ्चन गरिन्न।
खासगरी कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर उक्त नाटक मञ्चन गर्न लागिएको हो। ‘एक चिहान’ उपन्यास कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ। सोही उपन्यासलाई नाट्य रूपान्तरण गरेर केही वर्षयता नाचघरले प्रदर्शन गर्दै आएको छ। विद्यार्थीहरूले उक्त नाटक हरेर उपन्यासको समग्र विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले सहजै बुझ्न सक्ने नाचघरको भनाइ छ।
उपन्यासलाई नाटकका रूपमा मञ्चन गर्न कलाकारहरूले निकै मिहिनेत गरेको बजार व्यवस्थापक शर्माले बताए। नाचघरसँग आबद्ध राष्ट्रिय कलाकारहरूले नाटकका लागि उपन्यासमा प्रयुक्त विभिन्न पात्रहरूको भूमिका निभाएका छन्। शर्माका अनुसार नाटकमा डाक्टर गोदत्त प्रसादको भूमिकामा रामभजन कामत, सुब्बा सुरमानको भूमिकामा आकाश क्याप्छाकी र रामबहादुरको भूमिकामा राजेन्द्र गड्तौला देखिनेछन्।
त्यसैगरी नानीथकुं बनेर सुशीला थापा देखिनेछिन् भने मिलन नेपालीले शिवनारानको चरित्र निर्वाह गर्नेछन्। अष्टनारानका रूपमा मदन थापा, पुननारानका रूपमा विपीन घिमिरे र हर्षनारानका रूपमा रोहित सुवेदी मञ्चमा उपस्थित हुनेछन्। रामखेलावन रावतका रूपमा ओमप्रकाश बानिया, लतमायाका रूपमा गीता थापा र हाकुमायाका रूपमा माया थापाले भूमिका निर्वाह गर्नेछन्। पुतली बनेर सुस्मिता तामाङ आउनेछिन्। यस नाटकमा अन्य थुप्रै कलाकारको पनि उल्लेखनीय भूमिका रहनेछ।
नाटकको परिकल्पना तथा निर्देशन वीरेन्द्र हमालले गरेका हुन्। उपन्यासलाई नाट्य रूपान्तरणमा भने रमेश बिजीको योगदान छ। हरेक दिन बिहान ८ र बजेदेखि मञ्चन हुने नाटक करिब १ घन्टा ४५ मिनेटको रहेको शर्माले जानकारी दिए। बजार व्यवस्थापक शर्माका अनुसार नाटकका लागि निजी विद्यालयको हकमा ३५० र सामुदायिकको हकमा २५० रुपैयाँ कायम गरिएको छ। विद्यार्थीबाहेक अरुलाई नाटक हेर्न ५०० रुपैयाँ शुल्क तोकिएको छ। धेरै विद्यार्थी भएका कलेजलाई हल बुकको पनि व्यवस्था गरिएको उनले बताए। जसका लागि १ लाख ५० हजार रुपैयाँ तोकिएको छ।
नाट्य रुपान्तरण गरिएको उपन्यासमा के छ?
सामाजिक यथार्थवादी उपन्यास ‘एक चिहान’मा झन्डै सात दशकअघिका निम्नवर्गीय नेपालीहरूले भोग्नुपरेको समस्यालाई प्रस्तुत गरिएको छ। गरिबीका कारण निम्तिएको जटिल परिस्थितिका कारण धेरै नेपालीले गर्नुपरेको संघर्षपूर्ण जीवनयात्रालाई उपन्यासले विषय बनाएको छ।
पन्यासकार प्रधानले २००७ सालमा प्रजातन्त्र आइसकेको अवस्थामा पनि ठुलाठालु भनिनेहरूबाट सामान्य किसान तथा मजदुरहरू कसरी अन्याय र अत्याचारको सिकार भएका थिए भन्ने तथ्यलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका छन्। आफूहरूमाथि भइरहेका शोषण, दमन र उत्पीडनबाट मुक्ति पाउन किसान तथा मजदुरहरू जागरुक हुनुपर्ने सन्देश उपन्यासमार्फत प्रवाह गरिएको छ। आर्थिक विषमताले मानिसलाई कतिसम्म निरीह बनाउँछ भन्ने यथार्थतालाई चित्रण गर्न पनि उपन्यास सफल भएको छ। किसान र किसानी कर्मलाई उच्च सम्मानका साथ हेरिनुपर्ने आवाजसमेत उपन्यासमा उठाइएको छ।
नेपाली नारीहरूको पीडादायी अवस्थालाई पनि उपन्यासमा देखाइएको छ। खराब चरित्र भएका मानिसहरूले सोझसाझा नारीहरूमाथि राख्ने गिद्धेदृष्टिका कारण समाज विकृत बन्ने गरेको यथार्थतालाई उपन्यासले समेटेको छ। उपन्यासले समाजमा विद्यमान अन्धविश्वास, कुरीति, बेथिति हटाउन गलत परम्परालाई परित्याग गरेर नयाँ मूल्यमान्यताहरू स्थापित गर्दै जानुपर्नेमा जोड दिएको छ।
अन्तरजातीय र अन्तरक्षेत्रीय विवाहलाई समाजले आत्मसात् गर्नुपर्ने भाव समेटेको उपन्यासले जातीय भेदभावको अन्त्य नभएसम्म सामाजिक सद्भाव र राष्ट्रिय एकता सम्भव नहुने सत्यलाई उद्घाटन गरेको छ। विवाहले फरकफरक जाति र फरकफरक क्षेत्रका मानिसलाई एकै सूत्रमा बाँधेर सम्बन्धको आयामलाई फराकिलो पार्ने धारणा पनि उपन्यासकारले अघि सारेका छन्। यो उपन्यासले विपरीत लिंगप्रतिको प्रेम आदर्शमय, मर्यादित र अनुशासित हुनुपर्ने र प्रेमका नाममा विकृतिविसंगति निम्तिन नहुने तथ्यलाई पनि उजागर गरेको छ।
‘हिमाल पहाड तराई कोही छैन पराई’ भन्ने भाव सञ्चारको प्रयास गरेको यो उपन्यासले घुमाउरो पाराले ‘दाइजो प्रथा’प्रति व्यंग्यात्मक झटारोसमेत प्रहार गरेको छ। २०११ सालवरिपरिको कालगत परिवेश रहेको उपन्यासले काठमाडौं उपत्यकालाई स्थानगत परिवेश बनाएको छ। नेवार समुदायको भाषिक लवजलाई पनि समेटेका कारण उपन्यास अब्बल बन्न पुगेको छ।