नेपालको हवाई उडान इयूको कालोसूचीमै
युनियनले आज बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ।काठमाडौं, मंंसिर १४ : नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो।
युनियनले आज बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ।
इयूको एयर सेफ्टी कमिटीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई सुरक्षा अडिट प्रतिवेदन पठाउँदै १२ बुँदामा सुझाव पठाएको छ । गत भदौ अन्तिममा नेपाल आएको इयूको टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण, सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सको जाँच गरेको थियो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगम र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा यूरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको रिर्पोट आएको बताएका छन्।
‘इयुको एजेन्सीसँग हाम्रो सहकार्य जारी थियो । फेब्रुअरीको मिसनलाई सेप्टेम्बरमा आएर ५ दिन आएर इयुको टोली जाँच सकेर गएको थियो,’ महानिर्देशक अधिकारीले बिहीबार सञ्चारकर्मीसँग भने, ‘उहाँहरुको जाँच सुरक्षासँग सम्बन्धित थियो । उहाँहरुको ड्राफ्ट रिपोर्टपछि हामीले तत्काल र दीर्घकालीन गर्न सकिने एक्सन प्लानसहित हामीले पठाएका थियो । त्यसमा छलफलका लागि हामी नोभेम्बर १५ मा ब्रसेल्स गएका थियौं।’
अडिटपछि नोभेम्बर १४–१६ सम्म ब्रसेल्समा छलफलमा गरेर एयर सेफ्टी कमिटीले प्रतिवेदन तयार पारेको थियो । कमिटीले सुनुवाइपछि पठाएको इमेलमा नेपालको हवाई सेवा प्रणाली सुधारको दिशामा अघि बढेको पाइए पनि सुरक्षा सूचीबाट हालका लागि हटाउन नसकिने आशय रहेको उनले बताए।
प्राधिकरणको कामसँग सम्बद्ध कमजोरी उल्लेख नगरे पनि निगम र श्री एयरलाइन्सलाई सुरक्षा व्यवस्थापन प्रणाली र उडान संचालन नीतिमा सुधार गर्न सुझाव दिइएको जानकारी उनले दिए ।
‘ती दुई संस्थाले १२ बुँदा सुधार गर्नुपर्ने इयूको सुझाव छ, हामीले सुधार गरेर देखाउन सक्नुपर्छ,’ उनले भने । प्रतिवेदनमा उड्डयन सुरक्षाका लागि प्राधिकरणले गरेको काम र नेतृत्वको प्रशंसा गरिएको उनले बताए।
युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कालोसूचीबाट हटाउन आग्रह गरेका थिए।अधिकारीले सकरात्मक प्रगति भएको बताएका थिए।
युरोपेली आयोगले ‘युरोपेली युनियन (इयू) हवाई सुरक्षा सूची’ अद्यावधिक गर्दै नेपाली वायुसेवालाई त्यहाँको आकाशमा उडान गर्न कालोसूचीमा राखेको थियो।