कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित
पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको छ।मोरङ, मंसिर १३ : कोशी प्रदेश सरकारको बजेट प्रदेशसभा बैठकबाट सर्वसम्मतिले पारित भएको छ आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक पारित भएको हो।
बजेटमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार विनियोजन गरिएको छ।
यस्तै, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको छ।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड, नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार व्यहोरिने बजेटमा उल्लेख गरिएको छ।
‘कोशी प्रदेश विनियोजन अध्यादेश २०८०’ लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथि आठजना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए।
मुख्यमन्त्री केदार कार्कीले बजेटमा नमिले र कुनै क्षेत्रमा अन्याय परेको अवस्थामा सच्याउने प्रतिवद्धता व्यक्त गरेपछि सांसदहरुले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए।
गत भदौ २४ गते तत्कालीन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए।
अध्यादेश प्रतिस्थापन विधेयकमार्फत् मुख्यमन्त्री कार्कीले गत शनिबार ५० करोड थपेर ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।