Kathmandu Press

बजेट प्रतिस्थापन विधेयकमा सांसदहरुको असन्तुष्टि

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका छन्।
बजेट प्रतिस्थापन विधेयकमा सांसदहरुको असन्तुष्टि

मोरङ, मंसिर १२ : कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन्। प्रदेश सभा बैठकमा भएको छलफलमा बोल्ने क्रमम उनीहरुले असन्तुष्टि जनाएका हुन्।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका छन्।

प्रदेश सभाको सोमबारको बैठकका सहभागी सांसदले उक्त विधेयकको छलफलमा सहभागी भएका थिए। आज मंगलबार पनि यसबारे छलफल जारी रहने भएको छ।

Hardik ivf

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत रहेका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा अध्यादेशबाट आएको विनियोजन विधेयकलाई प्रतिस्थापन गर्ने विनियोजन ऐन २०८० गत शनिबार प्रदेशसभामा पेस गरेका थिए।

छलफलमा सहभागी सांसदहरुले नयाँ योजना छनौट र अध्यादेशमा राखिएका योजना कटौतीबारे आपत्ति जनाएका छन्।

अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ गते जारी गरेको अध्यादेश बजेटमा ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक ल्याएका हुन्। उनले ल्याएको विधेयकमा पहिलेका कार्यक्रमहरु कटौती गरेको भन्दै सांसदहरु असन्तुष्ट बनेका हुन्।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बजेटमाथि एमाले संसदीय दलले गम्भीर असहमति जाहेर गरेको जानकारी दिए । कार्यक्रम पुस्तिकामा राखिएका कार्यक्रम र योजना हटाइएकामा उनले आफूहरुको असन्तुष्टि रहेको बताए ।

एमाले सांसद सिर्जना राईले बजेट हचुवाका भरमा ल्याइएको टिप्पणी गरिन् । यस्तै, सांसद कमला दर्नालले आफूहरुले पेश गरेका योजना काटिएको भन्दै आपत्ति जनाइन्।

सत्तापक्षकी सांसद खिनु लङ्वा लिम्बूले विनियोजन ऐन २०८० मा उद्देश्य नभएको, प्राथमिकीकरण नगरेको टुक्राटुक्री योजना मात्रै आएको भन्दै असन्तुष्टि जनाइन्।

 

प्रकाशित मिति: ११:३१ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्