धनकुटामा विद्यार्थी विरामी हुन थालेपछि एक हप्ता विद्यालय बन्द
धनकुटा, फागुन २० : घनकुटाको चौविसे गाउँपालिका २ केराबारीको बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ। गत आ....

धनकुटा, फागुन २० : घनकुटाको चौविसे गाउँपालिका २ केराबारीको बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ। गत आइतबार २ विद्यार्थी झोक्रने, रुघाखोकीको समस्या देखिएको र सोमबार एकैपटक १२ जना बिरामी भएपछि विद्यालय नै बन्द गर्नु परेको विद्यालयका प्रधानाध्यापक महेश सिंहले जानकारी दिए। विद्यार्थीहरूमा झोक्रने, खोकी लाग्ने, हिड्न नसक्ने, नबोल्ने खालको लक्षण देखिने गरेको उनले बताए।
विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी मंगलबारदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले बताए। विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ। बिरामीहरू पूर्ण रूपमा निको नभएसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको सहमतिमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक सिंहले बताए। कक्षा १ देखि ३ सम्म सञ्चालन भएको विद्यालयमा यसरी बिरामी हुनेमा सबै कक्षाका विद्यार्थी रहेका छन। विद्यालयमा गएर विद्यार्थीको जाँच गर्दा मौसमी रुघाखोकीको समस्या देखिएको मुढेबास स्वास्थ्य चौकीका इन्चार्ज योगराज लिम्बूले बताए। विद्यालयमा देखिएको समस्या समाधानका लागि जिल्लास्तरमा सहकार्य गर्ने तयारी गरिएको वडाध्यक्ष ममिन्द्र लिम्बूले बताए।











