अन्तरिक्ष अध्ययनमा ठूलो सफलता, पहिलो पटक लेजर सन्देश प्राप्त
यो सन्देश १६ मिलियन किलोमिटरको दूरीबाट पृथ्वीमा पठाइएको थियो। सन्देश प्राप्त गर्न केवल ५० सेकेन्ड लागेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।काठमाडौं, मंसिर ९ : पृथ्वीमा पहिलो पटक अन्तरिक्षबाट लेजर सन्देश प्राप्त भएको छ।
यो सन्देश १६ मिलियन किलोमिटरको दूरीबाट पृथ्वीमा पठाइएको थियो। सन्देश प्राप्त गर्न केवल ५० सेकेन्ड लागेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।
यसरी लेजर सन्देश प्राप्त गरेको यो पहिलो पटक भएको पनि नासाको भनाई छ। अन्तरिक्षमा रहेको साइकी स्पेसक्राफ्टबाट सन्देश पठाइएको थियो, जुन ५० सेकेन्डमा पृथ्वीमा प्राप्त भएको हो।
नासाका अधिकारी टर्डी कोर्टेसका अनुसार पछिल्लो उपलब्धिले अन्तरिक्षमा सञ्चारमा सुधार ल्याउने मार्ग प्रशस्त गर्नेछ।m‘यसबाट हामी भविष्यमा अन्य ग्रहमा वैज्ञानिक सूचना, फोटो र भिडियो पठाउन सकिने प्रविधि निर्माण गर्न सक्षम हुनेछौं,’ उनले भने।
साइकी स्पेसक्राफ्ट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट अक्टोबर १३ मा प्रक्षेपण गरिएको थियो। यस प्रयोगका लागि डीप स्पेस अप्टिकल कम्युनिकेसन (डीएसओसी) प्रणाली प्रयोग गरिएको थियो। यो डीएसओसी प्रणाली साइकी स्पेसक्राफ्टमा स्थापित गरिएको थियो।
अन्तरिक्षमा अन्तरिक्ष यानसँग सम्पर्क स्थापित गर्न पृथ्वीमा ठूला एन्टेनाहरू जडान गरिएको छ। रेडियो संकेतहरू यी एन्टेनाहरूबाट सन्देशहरू पठाउन र प्राप्त गर्न प्रयोग गरिन्छ। तर तिनीहरूको ब्यान्डविथ सीमित छ।
यो प्रयोगपछि नासाले अब रेडियो सिग्नलको सट्टा ‘लाइट’ प्रयोग गरेर पृथ्वी र अन्तरिक्ष यानबीच सम्पर्क स्थापित गर्न सक्नेछ। यस लाइट वा लेजर मार्फत सन्देशहरू पठाउन र प्राप्त गर्न सकिन्छ।
नासाका अनुसार यो प्रणालीले हाल प्रयोगमा रहेका अन्तरिक्ष सञ्चार उपकरणहरूभन्दा १० देखि १०० गुणा छिटो सूचना पठाउन सक्छन्।
नासाले नोभेम्बर १४ मा साइकी स्पेसक्राफ्टले क्यालिफोर्नियाको पालोमर अब्जर्भेटरीमा हेल टेलिस्कोपसँग सञ्चार सम्पर्क स्थापना गरेको जनाएको छ । यस सञ्चार लिङ्कको सफल प्रयोगलाई ‘फस्टलाइट’ नाम दिइएको छ।