दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का
काठमाडौं, मंसिर ८ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन्।
‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए। उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरे।
'दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो। यसर्थ, यस क्षेत्रको विकासका लागि समुचित रणनीति, यथेष्ट पूर्वाधार विकास एवम् आवश्यक जनशक्तिको विकासका लागि लगानी आजको प्राथमिकता हो। यही प्राथमिकतालाई बुझेर नेपाल सरकारले आजका नीति तथा कार्यक्रमहरूमा, योजनाहरूमा दूरसञ्चार तथा अन्य प्राविधिक क्षेत्रको विकासमा विशेष जोड दिँदै आएको छ', उपप्रधानमन्त्री खड्काले भने।
उपप्रधानमन्त्री खड्काले नेपालको कठिन एवम् दुर्गम भूबनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढी महत्त्वपूर्ण देखिने बताए। उनले दूरसञ्चार क्षेत्रमा द्रुतगतिले भइरहेको आधुनिक प्रविधिको विकास तथा यसको संरचनामा भइरहेको गतिशील परिवर्तनले यस क्षेत्रमा नयाँ अवसरहरू देखापर्दै आएका पनि उल्लेख गरे।
दूरसञ्चार क्षेत्रको विकासका बारेमा अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासलाई समेत अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा यसको विस्तार र उपयोगलाई समग्र सामाजिक एवम् आर्थिक विकाससँगै जोडेर हेर्नुपर्ने बेला आएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो। उनले भने, 'एक्काइसौँ शताब्दीको गतिशील परिदृश्यलाई नियाल्दा, राष्ट्रहरूको शक्ति र सामथ्र्यलाई आकार दिन दूरसञ्चारको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ। विविध संस्कृति र भूगोलले भरिपूर्ण नेपालको सन्दर्भमा दूरसञ्चारको विकास एउटा आमूल परिवर्तन साबित भएको छ। यसको विकासले नेपाली जनताको विकासप्रतिको उत्कट र तीव्र चाहनालाई समेत प्रतिबिम्बित गर्दछ।'
नेपालमा दूरसञ्चार विकासको फाइदा विद्यार्थीमा पुगेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो। यसले आर्थिक वृद्धि, सामाजिक विकास र समग्र प्रगतिका लागि नयाँ बाटो खोलेको पनि बताए। 'शिक्षाको क्षेत्रमा दूरसञ्चारले सहरी र ग्रामीण विद्यार्थीहरूबीचको खाडललाई कम गर्दै भौगोलिक अवरोधहरू हटाई विश्वस्तरीय शिक्षामा पहुँच प्रदान गरिरहेको छ,' उनले भने, 'टेलिमेडिसिनले स्वास्थ्य सेवामा क्रान्ति ल्याउनेछ र भौगोलिक रूपमा अलग्गिएकाहरूलाई गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने अवस्था निर्माण भइरहेको छ। डिजिटल अर्थ व्यवस्था फस्टाउँदै छ, उद्यमीहरू र साना व्यवसायहरूलाई विश्वव्यापीस्तरमा समेत फस्टाउन सहयोग गर्नेछ, भन्ने हाम्रो विश्वास रहेको छ।'
उपप्रधानमन्त्री खड्काले दूरसञ्चारले अवसरहरूसँगै चुनौतीहरू पनि ल्याएको बताए। उनले दूरसञ्चार सेवाको अवसरबाट कोही नागरिक पनि वञ्चित नहुनुपर्नेमा सरकार सचेत रहेको जानकारी दिए। दूरसञ्चारको विकासले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्नेमा निहित हुनुपर्ने बताए।