भारत र क्यानडाको सम्बन्धमा सुधार, ई–भिसा सेवा सुरु
क्यानडामा व्याप्त परिस्थितिमा भारतीय कूटनीतिज्ञहरूलाई काम गर्न गाह्रो भएकाले पनि भारत सरकारले त्यतिबेला कठोर निर्णय लिनुपरेको पनि परराष्ट्र मन्त्री जयशंकरले प्रष्टीकरण दिएका छन्।नयाँ दिल्ली, मंसिर ७ : करिब दुई महिनापछि भारतले क्यानाडाका नागरिकका लागि ई–भिसा सेवा पुनस्र्थापित गरेको छ। योसँगै क्यानडियन नागरिक अब भारत आउन सक्नेछन्।
भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले अहिले क्यानडास्थित भारतीय दूतावास र त्यसमा काम गर्ने अधिकारी तथा कर्मचारीलाई खतरा कम भएको बताउँदै ई–भिसा दिने काम सुरु भएको जानकारी दिए। क्यानडा र भारतका बीचमा दुई महिनाअघि सम्बन्धमा कटुता आउँदा ई–भिसामा पनि प्रतिबन्ध लगाइएको थियाे।
क्यानडामा व्याप्त परिस्थितिमा भारतीय कूटनीतिज्ञहरूलाई काम गर्न गाह्रो भएकाले पनि भारत सरकारले त्यतिबेला कठोर निर्णय लिनुपरेको पनि परराष्ट्र मन्त्री जयशंकरले प्रष्टीकरण दिएका छन्।
ई–भिसाको नियम साधारण राहदानी लिएकाहरुका लागि हो। अन्यले भौतिक अर्थात् कागजी भिसाको लागि आवेदन दिनु पर्नेछ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा हरदीप सिंह निज्जर हत्या प्रकरणमा भारतीय एजेन्सीको हात रहेको बताएका थिए। उनको उक्त भनाइपछि दुई देश बीचको सम्बन्ध चिसिएको थियो । एक भारतीय नागरिकलाई क्यानडा छोड्न आदेश दिएपछि कूटनीतिक सम्बन्ध थप बिग्रिएको थियो।
भारत सरकारले ट्रुडो सरकारको यो निर्णयको बदला लिँदै क्यानाडेली नागरिकलाई भारत छोड्न आदेश दिएको थियो। ई–भिसामा प्रतिबन्ध पनि ती चरणहरूमध्ये एक थियो । खालिस्तान समर्थक हरदीप सिंह निज्जरलाई जुन २०२३ मा सरेमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए ।