Kathmandu Press

छठ पर्व विधिवत् रुपमा सुरु

छठ पर्व विधिवत् रुपमा सुरु
सप्तरीको राजविराजस्थित हटियामा छठ पूजाका लागि बिक्री गर्न राखिएको उखुलगायत । तस्बिर : अरूणकुमार यादव/रासस

गोलबजार (सिरहा), मंसिर २ : तराई मधेसमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले सिरहा जिल्लाको बजारमा रौनकता थपिएको छ। 

जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैयालगायत स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ। 

Hardik ivf

आर्थिक मन्दीले व्यपार बन्द भइरहेको बेला तिहार र छठ पर्वमा भइरहेको व्यापारले आशाको दियो बलेको लहानका व्यापारी रञ्जित साहले बताए। उनले जिल्लाका मुख्य बजार क्षेत्रका पसलहरु बन्द भइरहेको अवस्थामा  दसैंभन्दा पनि तिहार र छठमा राम्रो व्यापार भइरहेको बताए। जिल्लाका व्यापारीलाई प्रोत्साहन दिनका लागि सीमा क्षेत्रमा हुने तस्करी रोक्नुपर्ने उनकाे भनाइ थियो। 

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीमा डोम समुदायले बनाएका ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्री किन्न बजारमा घुइँचो लागेको हो।

तराई मधेसमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेसमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ। छठ मनाउन यतिबेला तराईका गाउँसहरमा रहेका पोखरी, नदी, तलाउ जस्ता जलाशयको सरसफाइ गर्ने, सिङ्गार्ने, क्रम सुरु भइसकेको छ।

छठको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजदेखि सात्विक भोजन गरी व्रत बस्ने परम्परा छ। यो पर्व आज नेहाय खाय (नुहाएर खाने) विधिबाट सुरु भएको छ। भोलि खरना (खिर खाने) र पर्सि आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत् रूपमा सम्पन्न हुनेछ।

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्