स्वास्थ्य जाँच बिना लमजुङ पुगेका चिनियाँ कामदारको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं, फागुन १९ : स्वास्थ्य परीक्षण बिना लमजुङको मस्र्याङ्दी गाउँपालिका ७ स्थित निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनास्थल पुगेका चिनिया....

काठमाडौं, फागुन १९ : स्वास्थ्य परीक्षण बिना लमजुङको मस्र्याङ्दी गाउँपालिका ७ स्थित निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनास्थल पुगेका चिनियाँ कामदारको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सोमबार लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीको संयोजकत्वमा आयोजना स्थल पुगेको स्वास्थ्यकर्मीको टोलीले कामदारको स्वास्थ्य जाँचपछि अवस्था सामान्य रहेको बताएको हो।
‘हामी फिल्डमै पुगेर चिनियाँ कामदार र स्थानीयसँग कुराकानी गर्यौ, अवस्था सामान्य रहेको छ, कामदारमा हालसम्म कुनैपनि लक्षण देखिएको छैन्,’ सहायक प्रमुख जिल्ला अधिकारी शाहीले भने।
'बस्तीभन्दा एक किलोमिटरको दुरीमा आयोजनाको क्याम छ,' उनले भने, 'हामीले उनीहरुलाई गाउँतिर नहिँड्न र सावधानी अपनाउन भनेका छौँ।'
चिनियाँ कामदार फर्किएसँगै स्थानीय त्रासमा रहेका कारण तत्काल आत्तिनुपर्ने अवस्था नरहेको भन्दै भाइरसबारे जानकारी गराएको उनले बताए।
नयाँ वर्ष मनाउन चीन गएका कामदार फर्किएपछि सँगै कामगर्ने स्थानीय कामदारले काम नै छाडेका छन्। साथै उनीहरुलाई तत्काल काममा नबोलाउन आयोजना प्रशासनमा खबर गरिएको छ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले आइतबार निर्माणक्षेत्रको अवस्था बारेमा तत्काल जानकारी लिन निर्देशन दिएकी थिइन्। सोही अनुसार सोमबार जिल्लाको स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशक बिना बिन्दु शर्माले जानकारी दिइन। उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका ३८ कामदार २९ फेब्रुअरीसम्म फर्किसकेका छन्।











