Kathmandu Press

प्रधानमन्त्री दाहालद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन

प्रधानमन्त्री दाहालद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन

तनहुँ, मंसिर १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी–३ मा निर्मित अस्पतालको आज उद्घाटन गरेका छन्। सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।

आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सेवा सुरु गरेको थियो। अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ। अस्पतालमा एक जना वरिष्ठ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

अस्पतालमा एक्स–रे सेवासमेत सञ्चालनको तयारी गरिएको छ। जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौडाबाट पाँच सय एमए एक्से–रे मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिए। 

अस्पतालमा एक्स–रे मेसिन नहुँदा यस भेगका जनता सेवा लिन छिमेकी चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो। अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त गोरखाका केही पालिकाका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका अध्यक्ष चुमानले बताए। 

अध्यक्ष चुमानले भने, 'अस्पतालको सेवा वृद्धि गर्न लागिपरेका छौँ। निकट भविष्यमै डायलासिस सेवा सञ्चालनमा आउँछ। डायलासिस मेसिन आइसकेको छ।' गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानको भनाइ छ।

उनले भने, 'ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ। केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ।' अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउनसमेत पहल भइरहेको छ। आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल आवश्यक रहेको चुमानले बताए। 

'पन्ध्र शय्याको अस्पताल हामी आफैँ चलाइरहेका छाैं, एक सय शय्याको अस्पताल प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ', चुमानले भने, 'त्यसपछि आँबुखैरेनीमात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ।'

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्