सरकारले कर बढायो तर, तराईमा विकास गरेन : यादव
काठमाडौं, फागुन १९ : राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले सरकारले तराई–मधेसमा समानुपातिक विकास नगरेको बताएका छन्। सोमबार बसेको प्रत....

काठमाडौं, फागुन १९ : राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले सरकारले तराई–मधेसमा समानुपातिक विकास नगरेको बताएका छन्। सोमबार बसेको प्रतिनिधीसभा बैठकको विशेष समयमा बोल्दै उनले बर्तमान सरकार कर मात्रै थप्न लागिपरेको आरोप लगाए।
‘सरकारले इन्धनमा १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। यो जनताको हितविपरितको काम हो,’ उनले भने, ‘संसद संचालन हुँदाको अवस्थामा सरकारले यसरी पाँच रुपैयाँ कर लगाउने निर्णय गरेर संसदको अपमान गरेको छ।’ उनले आर्थिक वर्ष ०७२–०७३ मा बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि इन्धनमा पाँच रुपैयाँ कर लगाएको तर ४० अर्ब रुपैयाँ जम्मा भएको अवस्थामा परियोजना सुरु हुन नसकेको भन्दै आपत्ति समेत जनाए। उनले कर देशका सबै भागबाट उठाइने भएपनि विकासमा भने मधेसलाई भेदभाव गरिएको बताए। ‘अब उप्रान्त कुनै कर लगाउने हो भने संसदबाटै नै पास गरियोस। तराई–मधेसमा समेत विकास होस्, भेदभाव नगरियोस्,’ उनले भने, ‘तराई मधेसमा सिंचाइको अभाव छ। पैसाको अभावमा धेरै परियोजना रोकिएका छन्। तीनलाई अघि बढाउन आवश्यक छ।’
उनले जनसंख्याका आधारमा बजेट विनियोजन नगरिएको भन्दै आपत्ति जनाए। ‘जनसंख्याको आधारमा छुट्टाइएको छैन। तराईको विकासमा सरकार गम्भीर देखिएन,’ उनले भने।











