अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख छ : अर्थमन्त्री महत
अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भइरहेको भन्दै त्यसका लागि अब देशभित्र सहज वातावरण बनाउनुपर्ने बताए।काठमाडौं, कात्तिक २५ : अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भएको बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भइरहेको भन्दै त्यसका लागि अब देशभित्र सहज वातावरण बनाउनुपर्ने बताए।
‘अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख छ। त्यसका लागि अब हामीले देशभित्र सहज वातावरण बनाउनुपर्ने छ,’ उनले भने, ‘त्यसमा कतिपय कानूनी सहजताको कुरा छ। खरिद नियमावलीको समस्या छ, यसलाई चाँडै संसदबाट पारित गर्न सकियो भने त्यसले धेरै सहज हुन्छ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई २२ बुँदे पत्र काट्दा त्रसित भएको बताए ।
‘विभिन्न मन्त्रालयका कर्मचारीको नाममा अख्तियारबाट २२ बुँदे पत्र आएको छ । कर्मचारीहरू त्रसित छन्। यसले काम गर्न कर्मचारीलाई असहज भएको छ । विगतलाई हेर्दा अर्थ सचिव भएकाहरू पनि निलम्बनमा परेका छन्,’ उनले भने।
समितिल् मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनोट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन सुझाव दिएको थियो।
यस्तै, बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा १ (ख) अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहलाई २२ बुँदे सुझाव दिएको थियो।