नलगाडमा भूकम्प प्रभावित सुत्केरीलाई समस्या
जाजरकाेट, कात्तिक २४ : जाजरकाेटकाे नलगाड–७ दल्लीका मीनाकुमारी बादी सुत्केरी भएर बिहीबार नगर अस्पतालबाट डिस्चार्ज भइन्। उनलाई त्रिपालमुनि खाना र न्यानो कपडा नहुँदा समस्या भएको छ। भूकम्पले घरमा क्षति बनाउँदा सबै त्रिपालमा रहेका समयमा मीनालाई भत्किएको घर बाहिर बस्नुपर्दा समस्या उत्पन्न भएको छ।
उनीसँग ६ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी साथमा छिन्। मीनाकी सासू सुनिता अनुसार अब मीनाको काँधमा तीन बच्चाको व्यवस्थापनको कामसमेत थपिएको छ। उनका श्रीमान्को केही दिनअघि शल्यक्रिया गरेकाले राम्रोसँग हिँड्न सक्ने अवस्थामा छैन। सुनिताले भनिन्, 'बस्न घर भत्किएको छ भने खानका लागि अन्नको एक गेडा पनि छैन।'
उनीजस्तै बारेकोट गाउँपालिका–२ रोकायगाउँकी सरिता गिरीलाई पनि समस्या छ। तीन दिनकी सुत्केरी उनी अहिले त्रिपालको सहारामा चिसोले हैरानी खेप्दै बस्नुभएको छ। उहाँका श्रीमान् भारतको कोलकतामा काम गर्न गएको पनि पाँच महिना भइसक्यो। अहिले उनी ९ वर्षको छोराका साथमा छिन्।
भूकम्पको केन्द्रबिन्दु रहेको नजिकै आफ्नो गाउँ भएकाले पराकम्प गइरहने समस्या छ। सुत्केरीले स्याहारसुसार पाउने समयमा आफैँ काममा लाग्नुपर्दा जोखिम बढेको उनको भनाइ छ। भूकम्पबाट कति स्वास्थ्य संस्थामा क्षति पुगेको छ भन्ने यकिन तथ्याङक छैन। भूकम्प प्रभावित अधिकांश ठाउँमा स्वास्थ्य संस्थाका भवनहरु चर्किएकाले सेवा प्रभावमा समस्या भएको छ।
लिम्सास्थित स्वास्थ्य तथा सरसफाइ शाखाको भवन भत्किएपछि खुल्ला चौरमा त्रिपाल टाँगेर सेवा सञ्चालन गरिएको वरिष्ठ अनमी कल्पना रोकायले जानकारी दिनुभयो। त्यस्तै अन्य ठाउँको अवस्थासमेत चिन्ताजनक रहेको उहाँको भनाइ छ। खासगरी बारेकोट, नलगाड र भेरीमा भौतिक संरचनामा क्षति भएको छ।