Kathmandu Press

प्रदेश प्रहरी समायोजनलगायत माग राखेर प्रधानमन्त्री दाहाललाई मधेस सरकारकाे ध्यानाकर्षणपत्र

प्रदेश प्रहरी समायोजनलगायत माग राखेर प्रधानमन्त्री दाहाललाई मधेस सरकारकाे ध्यानाकर्षणपत्र

काठमाडौं, कात्तिक २२ : मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको हो। संघीयताको ८ वर्ष बितिसक्दा समेत प्रदेश सरकारले पूर्ण संवैधानिक अधिकार प्रयोग गर्न नपाएकोले केन्द्रिय सरकारलाई ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए।

Hardik ivf

उनले प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजनका विषयमा आधारित भई ध्यानाकर्षणपत्र बुझाइएको जानकारी दिए। काम गर्न कर्मचारी नरहेको र संघबाट आएका कर्मचारीको काम गर्ने शैली फरक रहेकाले समस्या भइरहेको उनले बताए।

आफू मुख्यमन्त्री बनेको ८ महिनामै तीन मुख्य सचिवको सरुवा भएको उनले गुनासो समेत गरे। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री यादवले बताए। उनले ३० दिनभित्र आफ्ना मागहरु सम्बोधन नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए।

मुख्यमन्त्री यादवले अन्य ६ प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग पनि संवैधानिक अधिकार कार्यान्वयनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरे।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्