Kathmandu Press

कोरोनाको जोखिमका कारण सगरमाथा संवाद रोक्ने सरकारकाे तयारी

काठमाडौं फागुन १८ : कोरोना भाइरसको प्रकोप विश्वभर फैलिँदै जाँदा सरकारले यसै वर्ष सुरु गर्न लागेको सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ।<....

कोरोनाको जोखिमका कारण सगरमाथा संवाद रोक्ने सरकारकाे तयारी

काठमाडौं फागुन १८ : कोरोना भाइरसको प्रकोप विश्वभर फैलिँदै जाँदा सरकारले यसै वर्ष सुरु गर्न लागेको सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सगरमाथा संवाद कार्यक्रम रोक्न ठिक हुन्छ कि भन्ने निष्कर्षमा पुगेको बताए। उनले केही दिन अध्ययन गरेर कुन नेपालीहरुलाई कुन देशको यात्रामा जान दिने र कुन देशमा रोक्ने भन्नेबारे निर्णय गर्ने जानकारी दिए।

सरकारले  चैत २० देखि २२ सगरमाथा संवादको तयारी गरेको थियो। जसका लागि विश्वभरका नेता, राष्ट्रसंघ महासचिव, एक्टिभिस्ट, कलाकारलगायतका प्रसिद्ध व्यक्तिहरुलाई निमन्त्रणा दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएसँगै यसको जोखिम न्यूनीकरण गर्न प्रधानमन्त्रीलगायतका उच्च पदस्थ पदाधिकारीहरु लागिपरेका छन्।

विश्वभर संक्रमण फैलिँदै गर्दा नेपालमा सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयले तीन चरणको तयारी सार्वजनिक गरेको छ।

जोखिम न्यूनीकरणलागि सिमा नाकाबाट नेपाल प्रवेश गर्न रोक लगाइएको छ। साथै, जोखिम न्यूनीकरणको लागि विभिन्न कार्यक्रम लागू गर्नेबारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहालले बताए।

कोरोना भाइरसको संक्रमण भए नभएको कसरी चाँडो पत्ता लगाउन सकिन्छ भन्ने कुराको अध्ययन हुनुका साथै कसैमा संत्रमण भएको पाइएमा कुन अस्पताल लाने भन्नेबारे छलफल भइरहेको छ, उनले भने।

त्यस्तै कुनै व्यक्तीमा संक्रमण भएको पुष्टी भएमा उक्त व्यक्तीको सम्पर्कमा रहेका अन्य व्यक्तीको समेत खोजी गरी सुरक्षीत तरीका अपनाउने दाहालले बताए। तत्कालको लागि भने विमानस्थलमा जाँच बढाउने, थप औषधी भण्डारण गर्ने, हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थप्ने कार्य भइरहेको छ।

गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइरस अहिले ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ। चीनपछि इरान, इटाली र दक्षिण कोरियामा यसको संक्रमण बढी देखिएको छ। कोरोना भाइरसबाट हालसम्म दुई हजार नौ सय ८१  जनाको मृत्यु भएको छ भने ८६ हजार नौ सय संक्रमित रहेका छन्।

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्