देशभरका ट्राफिक प्रहरीलाई ४० वटा स्मार्ट लाइसेन्स रिडर प्रदान
काठमाडौं, फागुन १८ : यातायात व्यवस्था विभागले देशभरका ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्स रिडर मेसिन प्रदान गरेको छ। ट्राफिक प्रहरीको माग अनुसार लाइसेन....

काठमाडौं, फागुन १८ : यातायात व्यवस्था विभागले देशभरका ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्स रिडर मेसिन प्रदान गरेको छ। ट्राफिक प्रहरीको माग अनुसार लाइसेन्स परीक्षणको लागि पहिलो चरणमा ४० ओटा रिडर मेसिन प्रदान गरिएको विभागले जनाएको छ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘हाम्रो यस वर्षको कार्यक्रम मै लाइसेन्स रिडर मेसिन खरिद गर्ने छ। ट्राफिक प्रहरीले माग गरेजती मेसिन खरिद हुन्छ। यसै वर्षभित्र सबै जिल्लाका ट्राफिक र यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स पढ्ने मेसिन पुगिसक्छ।’
विभागले उपलव्ध गराएको रिडर मेसिन ट्राफिक निर्देशनालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा र सबै प्रदेशको ट्राफिक प्रहरीले प्रयोग गर्नेछन्।
पुरानो तथा कागजी लाइसेन्सलाई विस्थापन परि स्मार्ट लाइसेन्स वितरणको सुरुवात गरेको विभागले यसअघि ट्राफिकलाई पाँचवटा मेसिन दिएको थियो। पाँच मध्ये चालु अवस्थामा दुई वटा मात्र रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
हालसम्म विभागले वितरण गरेको ११ लाख स्मार्ट लाइसेन्स दुई वटा मेसिनबाट जाँच हुँदै आएको थियो।











