उद्धार र पुनःस्थापना कार्यमा जुट्न आह्वान
महासङ्घले समग्र मुलुक एक भएर घाइतेको उद्धारमा जुट्न आवश्यक भएकाले उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।काठमाडौँ, कात्तिक १८ : नेपाल निर्माण व्यवसायी महासङ्घ र समाज कल्याण परिषद्ले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा पुनःस्थापना कार्यमा जुट्न आह्वान गरेका छन्।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्पका कारण ठूलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुन गई जनजीवन अस्तव्यस्त भएको दुःखद घडीमा भुकम्प प्रभावित क्षेत्र र सोही क्षेत्र आसपासमा रहेका निर्माण स्थलका निर्माण कम्पनीलाई आ–आफ्नो सबै यन्त्र उपकरणसहित तत्काल उद्धार तथा पुनः स्थापना कार्यमा जुट्न सम्पुर्ण सदस्यमा आह्वान गरेको हो।
महासङ्घले समग्र मुलुक एक भएर घाइतेको उद्धारमा जुट्न आवश्यक भएकाले उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।
यसैगरी समाज कल्याण परिषद्ले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पु¥याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई अनुरोध गरेको छ।
परिषद्ले आज सूचना जारी गर्दै भूकम्पका कारण ठूलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुन गई जनजीवन अस्तव्यस्त भएको दुःखद घडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई आ–आफ्नो परियोजना सञ्चालन भएको कार्यक्षेत्रबाट तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउन अनुरोध गरेको हो।
परिषद्ले सामाजिक सङ्घसंस्थालाई सम्बन्धित स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्य गर्न तथा सोको जानकारी परिषद्मा पठाउनाका साथै विपद्को समयमा कार्यरत सामाजिक सङ्घसस्थालाई सहजरुपमा कार्यसम्पादन गर्ने वातावरण मिलाई सहयोग गरिदनसमेत सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ।