भूकम्प प्रभावितलाई सहयोग गर्न महासंघको अपिल
काठमाडौँ, कात्तिक १८ : नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।
महासंघले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य संघसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो।
गएराति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति महासंघले दुःख व्यक्त गरेको छ। महासंघले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
महासंघले सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायी र व्यावसायिक संघसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ। भूकम्प प्रभावित जनताको सहयोगका लागि महासंघले आफ्नातर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गरेको छ। सहयोग गर्न चाहनेहरूका लागि महासंघको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ।