‘मुलुकको आर्थिक अवस्थामा निकै चुनौती छ’
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गरे।काठमाडौं, कात्तिक १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गरे।
‘देशको अवस्थालाई हेर्नुु छ भने विमानस्थलमा पुगेर हेर्नुपर्छ। विदेश गएर युवा कुन अवस्थामा छन् । देशको नेतृत्व गर्नेले कत्तिको देश र जनताप्रति इमान्दार भएर काम गरिरहेका छौँ त?’
नेपालीले अनेकौँ चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि संकट रहेको उल्लेख गरे। विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै अध्यक्ष नेपालले योजना निर्माण र बजेट विनियोजनमा त्रुटी रहेको औंल्याए।
‘कृषिजन्य धेरै वस्तु आयात गरिरहेका छौं। हामीले आफ्नै देशमा उत्पादन गर्न सक्ने चिज पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ। नेपालमै कृषि उत्पादन बढाउन राज्य चुकेको छ । भ्रष्टाचार गर्ने महारोगबाट नेपाललाई मुक्त गर्नुपर्छ,’ उनले भने, ‘सरकारले राज्य प्रणालीलाई पारदर्शी बनाउनुपर्छ । इमान्दारिता, पारदर्शिता, जनताको पीडा र वेदनालाई महसुस गरेर अघि बढौं।’
इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने माग गरे।