चीनद्वारा ‘स्थिर’ अमेरिकी सम्बन्धको आह्वान
वासिङ्टन, कात्तिक १० : चीनका विदेशमन्त्री वाङ यीले बिहीबार महिनौँको अशान्तिपछि अमेरिकासँग अधिक स्थिर सम्बन्धको अपेक्षा गरेको बताएका छन्। चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित अमेरिका भ्रमणको तयारीका लागि वासिङ्टनको दुर्लभ भ्रमणका क्रममा विदेशमन्त्री वाङले सो कुरा बताएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेटवार्ता गरेर भ्रमणको सुरुआत गरेका छन्। भेटमा विदेशमन्त्री ब्लिङ्केनले आफ्ना पाहुनासँग आफू ‘रचनात्मक कुराकानी’ का लागि उत्सुक रहेको बताए।
जुन महिनामा बेइजिङको भ्रमणमा आउनुभएका ब्लिङ्केनलाई वाङले चीन ‘असमझदारी कम गर्न’ चाहेको बताएका थिए। 'चीन सामान्य आधारको विस्तार गर्न चाहन्छ र सहयोगलाई अगाडि बढाउन चाहन्छ जसले दुवै मुलुकलाई लाभ हुनेछ। हामी अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउन सकौँ र त्यसलाई स्वस्थ, स्थिर र दिगो विकासको मार्गमा फर्काउन सकौँ,' उनले भने।
मतभेद अझै आउने कुरा स्वीकार गर्दै वाङले भने, 'चीनले शान्तिपूर्वक जवाफ दिनेछ किनकी के सही हो र के गलत हो भन्ने कुरा कसको हात बलियो र आवाज उच्च छ भन्ने कुराले निर्धारण गर्दैन भन्ने हाम्रो भनाइ हो।'
शुक्रबार वाङले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसँग कुराकानी गर्नुहुनेछ। राष्ट्रपति बाइडेनसँग कुनै बैठकको घोषणा गरिएको छैन तर बेइजिङमा राष्ट्रपति सिले ब्लिङ्केनलाई भेट दिएपछि बाइडेनसँग वाङको भेटवार्ता हुने व्यापक अपेक्षा गरिएको छ।