पवर्तारोहण संघले हिमाल आरोहणबाट उठायो १२ करोड रोयल्टी
काठमाडौं, फागुन, १६ : नेपाल पर्वतारोहण संघ (एनएमए) ले हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट १२ करोड रुपैयाँ रोयल्टी रकम संकलन गरेको छ।&....

काठमाडौं, फागुन, १६ : नेपाल पर्वतारोहण संघ (एनएमए) ले हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट १२ करोड रुपैयाँ रोयल्टी रकम संकलन गरेको छ।
सरकारबाट अनुमति पाएका २७ मध्ये २४ वटा हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट संघले आर्थिक वर्ष २०७५–०७६ मा १२ करोड ५१ लाख ८० हजार रुपैयाँ रोयल्टी रकम संकलन गरेको हो। आरोहणबाट उठेको रोयल्टी ५५ प्रतिशत सरकार र बाँकी ४५ प्रतिशत रकम संघको खातामा जम्मा हुँदै आएको छ।
सरकारको नियम अनुसार उठेको रोयल्टी रकममध्येबाट २५–२५ प्रतिशत रकम सम्बन्धित प्रदेश र स्थानीय सरकारको कोषमा तथा पाँच प्रतिशत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको खातामा जम्मा हुने संघका अध्यक्ष सन्तविर लामाले बताए।
२४ वटा पिक आरोहणका लागि गत वर्ष एक हजार ७ सय ३३ समूहका ६ हजार ५ सय ५५ जनाले अनुमति लिएका थिए। तीमध्ये एक सय २ जना नेपाली थिए।
तीन महिनामा तिर्नुपर्ने रोयल्टी एक वर्षमा
संघले आरोहण अनुमति दिएर उठाएको रोयल्टीवापतको रकम तीन÷तीन महिनामा सरकारको खातामा जम्मा गर्नुपर्ने नियम छ। तर, संघले आर्थिक वर्ष २०७५–०७६ मा २४ वटा पीकको आरोहण अनुमतिबाट उठेको रोयल्टी रकम सरकारको खातामा जम्मा गर्न ढिलाई गरेको थियो।
तीन महिनामा जम्मा गर्नुपर्ने रकम संघले गत पुसको २८ मा सरकारको खातामा जम्मा गरेको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको ताकेतापछि संघले ६ करोड ८८ लाख ४९ हजार रुपैयाँ बराबरको रकम मन्त्रालयको राजश्व खातामा जम्मा गरेको हो।
संघका महासचिव एवं सूचना अधिकारी कुलबहादुर गुरुङले मन्त्रालयको नियमअनुसार रोयल्टी रकम भुक्तानी प्रक्रियामा अस्पष्ट हुँदा भुक्तानीमा केही ढिला भएको बताए।
चालु आर्थिक वर्षमा १९ पिकको अनुमति
संघले आर्थिक वर्ष २०७६–०७७ मा हालसम्म १९ वटा पिकको आरोहण अनुमति दिएको छ। अध्यक्ष लामाका अनुसार १९ पीक आरोहणका लागि ९ सय ३९ समूहका तीन हजार ६ सय २४ जनालाई अनुमति दिइएको छ। जसबाट हालसम्म ५ करोड ८४ लाख ६ हजार ४ सय ५९ रुपैयाँ रोयल्टी रकम संकलन भएको छ।
शुरुवाती चरणमा १२ पिकको अनुमति दिएको सरकारले विसं २०७४ साउन १० गते १५ पिक थप गरेर २७ पिकको जिम्मा दिएको थियो। एनएमएले २०७६ साल असोज १३ गते सरकारलाई थप पाँच हजार ८०० उचाइदेखि छ हजार ५०० मिटर उचाइसम्मका १७६ पिकको व्यवस्थापनाको जिम्मा दिन आग्रहसमेत गरेको थियो।
सङ्घका अध्यक्ष लामाका अनुसार नेपाल पर्वतारोहण संघले हाल आरोहण गरिँदै आएका तथा पहिचान भएर पनि आरोहण नगरिएका ४१४ हिमशृङ्खला तथा चुचुरा 'पिक'को विस्तृत जानकारीसहित ‘पिक प्रोफाइल’ तयार पारेको छ।











