Kathmandu Press

संविधान संशोधन तत्काल नथाले राजपाले सरकारको समर्थन फिर्ता लिने


काठमाडौं, फागुन ८ः सरकारलाई समर्थन गरेर पनि संसद्मा प्रतिपक्षको आसनमा बस्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले यस्तै परिस्थिति रहेका आफूले दिएको समर्थन फिर्....

संविधान संशोधन तत्काल नथाले राजपाले सरकारको समर्थन फिर्ता लिने


काठमाडौं, फागुन ८ः सरकारलाई समर्थन गरेर पनि संसद्मा प्रतिपक्षको आसनमा बस्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले यस्तै परिस्थिति रहेका आफूले दिएको समर्थन फिर्ता लिने धम्की दिएको छ । 

राजपा नेता लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै आफूहरूलाई समर्थन फिर्ता लिन बाध्य नपार्न सरकारसँग अनुरोध गरे । 

राज्यले ठग्दैन भन्ने विश्वासका आधारमा सरकारलाई समर्थन गरेको बताउँदै भने, ‘सरकारले थारु, मधेशी दलितका समस्या समाधान गर्छौं भनेकाले समर्थन दियौँ । मधेशी जनजाति आन्दोलनका मुद्दाहरू फिर्ता गर्छौं भनेकाले विश्वासमा समर्थन गरेका थियौँ । सरकारलाई ताकेता गर्‍यौँ, समय माग्यो तर आज न संविधान संशोधन न मुद्दा फिर्ताको चर्चा भएको छ ।’

संविधानमा आफ्ना कुरा नपरेपछि संविधान सभा छाडेर गएको प्रसंग उल्लेख गर्दै उनले आफ्नो पार्टीले उठाएको माग सांसद्को माग नभई मधेशी जनताको रगतले सिंचित माग भएको बताए । कर्णले भने, ‘आफ्नै देशको जनताको रगतको यदि सम्मान नगर्ने हो भने पनि हामी यो आश्वासनमा धेरै दिन बस्दैनौँ ।’

संविधानसभा छाडेर गए पनि संसदीय व्यवस्था र लोकतन्त्र प्यारो भएकाले संसद्मा फेरि फर्केर आएको बताउँदै कर्णले भने, ‘सरकार फेरि हामीलाई बाध्य नपारोस्– फेरि हामी यो संसद्मा उच्छृङ्खलता देखाऊँ ।’ 

फेरि रगत नबगोस् भनेर धैर्य राखेको बताउँदै यसलाई कमजोरीका रूपमा नबुझ्न पनि सरकारलाई चेतावनी दिए । भने, ‘सरकारले अविलम्ब संविधान संशोधनको काम थालोस् ।’

सरकारले हजारौँ माओवादी र अन्य पार्टीका मुद्दा फिर्ता लिए पनि मधेश आन्दोलनका मुद्दा फिर्ता नलिएको र सयौँ मान्छे जेलमा रहेको बताउँदै भने, ‘यदि प्रधानमन्त्रीको कुरा पनि पूरा भएन भने राज्यमाथि विश्वास गर्ने आधार रहन्न । सरकारले हामीलाई समर्थन फिर्ता लिएर सडकमा जाने परिस्थितिमा नपारोस् । अन्यथा हामी बाध्य हुनेछौँ ।’ 
 

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, फागुन ८, २०७५