सर्जकलाई पीडा दिने दसैंको त्यो सदाबहार गीत
यो गीत जति चर्चामा आयो, त्यति नै विवादमा पनि प¥यो। विवादमा पर्नुको कारण थियो– शब्द र संगीतमा सापकोटाको नाम नराख्नु।‘चरिररि... चरिररिरै... वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो,
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो,
हो...हो....दसैं आयो...हो....हो...दसैं आयो...’
दसैंको आगमनसँगै यो गीत सबैतिर गुन्जिन्छ। यो गीत रेडियो, टेलिभिजन र मोबाइलमा गुन्जन थालेपछि दसैं घर आँगनमा आएको आभास हुन्छ। रोजगारीका लागि परदेश होस् वा घरदेखि बाहिर रहेकाहरू यो गीत सुनेपछि गाउँघरको याद गर्छन्।
गीतको भिडियोमा परदेशमा रहेको छोराको घरमा आगमनले आमाको मुहारमा छाएको खुसी, ग्रामीण भेगमा मनाइने दसैंको चित्र दुरुस्तै चित्रण गरेको छ। भिडियोमा देखाइएको बेंसीमा झुलेका धानका बाला, बारीमा फुलेको कोदोले गाउँले परिवेशलाई दुरुस्तै उतारेको छ। यसकारण पनि यो गीत जीवन्त र कालजयी बनेको छ।
यसरी बन्यो गीत
स्याङ्जा आँधीखोलाका लोकनाथ सापकोटाले २०५८ सालतिर यो गीत रचेका हुन्। कक्षा ९ मा पढ्दा उनले यो गीत लेखेको थिए। ‘त्यतिबेला दसैं आउन लाग्यो भनेपछि मनै प्रफुल्ल हुन्थ्यो। ममा बाल्यकालदेखि नै गीत संगीतप्रतिको रुचि पनि थियो। मनमा फुरेका अनेक कुराकानी र गाउँघरको दसैंलाई समेटेर गीतको सिर्जना गरेको थिएँ। यति धेरै लोकप्रिय हुन्छ भनेर लेखेको थिइनँ,’ उनले काठमाडौं प्रेससँग भने।
दसैंको आगवनले गाउँमा देखिने दृश्यलाई आफूले गीतमा उतारेको उनको भनाइ छ। अहिले सर्वत्र चर्चामा रहेको यो गीतको सिर्जना गर्न उनलाई करिब तीन वर्ष लागेको थियो।
२०५८ सालमा रचना गरिएको उक्त गीतले त्यतिबेला पोखरा र आसपासका क्षेत्रमा व्यापक चर्चा कमाएको थियो। दसैं आउनेबित्तिकै उक्त गीत गुन्जिन्थ्यो। त्यसबेला सापकोटाले तेजु गुरुङ र कृष्ण परियारसँग मिलेर आफूले समेत गीतमा स्वर भरेका थिए।
चलचित्रमा समावेश
२०६०–६१ सालतिर सापकोटाले पोखरामा रहेको बराही चलचित्र मन्दिरमा लेखापालको जागिर खान थालेका थिए। ‘फिल्म’ हलमा काम गर्ने भएपछि देशका प्रतिष्ठित कलाकारसँग उनको हिमचिम बढ्यो र धेरै कलाकारसँग भेट पनि भयो। यसैबीचमा चलचित्र निर्देशक शिव रेग्मी (हाल स्वर्गीय) पोखरा आएका बेलामा सापकोटाको भेट भयो। भेटमा सापकोटाले आफूले सिर्जना गरेको ‘दसैं आयो ..’ गीत सुनाए।
‘शिव रेग्मी सरले चार÷पाँच पटकसम्म गीत सुनाउन भन्नुभयो। मैले सुनाएँ। त्यसपछि उहाँले भन्नुभयो– अब यो गीत चलचित्रमा समावेश हुन्छ,’ उनी विगत सम्झिन्छन्। यही गीतमा केन्द्रित भएर रेग्मीले चलचित्रको निर्माण गरेको सापकोटाको भनाइ छ।
‘तपाईंको यही गीतबाट मलाई फिल्म बनाउने ‘कन्सेप्ट’ आयो। गीतमा केही फेरबदल गर्नुस्, भन्नुभयो। मैंले अलिकति परिवर्तन गरेर शिव सरलाई बुझाएँ,’ सापकोटाले भने।
त्यसपछि ‘मुग्लान’ चलचित्रको शीर्ष गीत नै ‘दसैं आयो...’ राखेर चलचित्र सार्वजनिक गरियो।
चलचित्रमा समावेश उक्त गीतमा उदित नारायण झा, दीपा नारायण, नारायण लामा र जुना प्रसाईले स्वर भरेका थिए। त्यसपछि गीत अझै चर्चाको शिखरमा पुग्यो। गीतमा विपना थापा, दिलीप रायमाझी, सुशील क्षेत्री, झरना थापालगायत कलाकारको अभिनय देख्न सकिन्छ।
विवादमा तानियो गीत
यो गीत जति चर्चामा आयो, त्यति नै विवादमा पनि प¥यो। विवादमा पर्नुको कारण थियो– शब्द, संगीत र रचनामा लोकनाथ सापकोटाको नाम नराख्नु। चलचित्र सार्वजनिक हुनुपूर्व गीतको रचना तथा शब्दमा स्वयम् चलचित्रका निर्देशक शिव रेग्मीको नाम उल्लेख गरिएको थियो भने संगीतकारमा सुरेश अधिकारीको नाम राखियो। यसरी चलचित्र सार्वजनिक गर्नु केही अघि मिडियामार्फत सापकोटाले उक्त खबर थाहा पाए। आफूले रचना गरेको गीतमा आफ्नो कुनै नामनिसाना केही नहुँदा उनी दुःखी भए।
मुग्लान चलचित्रका निर्देशक रेग्मीसँग कुरा गर्दा पनि कुनै चासो नदेखाएपछि सापकोटाले प्रतिलिपि अधिकार कार्यालयमा आफ्नो शब्द, संगीत र रचना चोरिएको भन्दै उजुरी गर्न बाध्य भएको उनी स्मरण गर्छन्।
त्यसपछि चलचित्रका निर्देशक रेग्मीले शब्द/रचनामा कलाकार सापकोटाको नाम उल्लेख गर्न बाध्य भए। तर अझै पनि संगीतकारमा भने सापकोटाको नाम अझै उल्लेख गरिएन। त्यसपछि फेरि सापकोटाले मुद्दा, मामिला गरिरहेपनि कुनै सुनुवाइ नभएपछि र चलचित्र सार्वजनिक भइसकेपछि आफूले पनि त्यति चासो नदेखाएको बताए।
‘गीतमा मेरोजस्तै मेलोडी र संगीत छ। मसँग धेरै प्रमाण छन्। संगीतकारमा नाम राखिएका सुरेश अधिकारी संगीत सम्बद्ध संघसंस्थामा पनि आबद्ध भएकाले मेरो कुरा सुनुवाइ भएन। त्यसपछि म चुपचाप बसें,’ उनले भने।
आफ्नो गीत घन्किँदा पनि दुःखी
दसैं नजिकिएसँगै सर्वत्र गीत घन्काएर हर्षोल्लास मनाइरहँदा गीतका सर्जक सापकोटालाई भने त्यति खुसी लाग्दैन। यो गीतको प्रसंग उठ्नेबित्तिकै हरेक दसैंमा सापकोटा दुःखी हुने गर्छन्।
‘गीत एकदमै हिट भयो तर म जहिले पनि पीडा बोकेर बस्न बाध्य भएँ। गीत बज्दा सबैले तेरो गीत भन्छन्। तर कताकता संगीतमा आफूलाई नपाउँदा औधी मन दुख्छ,’ उनले भने।
गीत विवादकै कारण पछि सापकोटा गीतसंगीतको दुनियाँमा त्यति सक्रिय भएनन्। यसरी आफूजस्ता कलाकारको सिर्जनामाथि खेलबाड गर्नेप्रति सबै एकजुट भए नयाँ पुस्ताका सर्जकलाई आफ्नो जस्तो पीडा बेहोर्नुनपर्ने उनको भनाइ छ।