Kathmandu Press

मन्दिर निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै विष्टविरूद्ध मुद्दा दायर

काठमाडौं, फागुन १५ : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ साकेतधाम विष्णु मन्दिरको खुड्किला निर्माण गर्दा साढे चार लाख भ्रष्टाचार गरेको आरोपमा उप....

मन्दिर निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै विष्टविरूद्ध मुद्दा दायर

काठमाडौं, फागुन १५ : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ साकेतधाम विष्णु मन्दिरको खुड्किला निर्माण गर्दा साढे चार लाख भ्रष्टाचार गरेको आरोपमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टविरूद्ध मुद्दा दायर भएको छ।

मन्दिरमा खुड्किला निर्माणका लागि पेश्की लिएर पनि फछट्यौट नगरेपछि अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो। मन्दिर (विष्णु धाम) मा खुड्किला निर्माण योजनाका लागि आर्थिक वर्ष ०६५–०६६ मा विष्टले नगरपालिकाबाट चार लाख ५० हजार रुपैयाँ लिएको र उनले निर्माण कार्य नगरी आफूलाई मात्रै गैरकानूनी लाभ पुर्‍याउने काम गरेको अभियोग पत्रमा उल्लेख छ। 

सरकारलाई हानीनोक्सानी पुर्‍याउने बदनियतले नगरपालिकासमक्ष गरेको सम्झौता पालना नगरी रकम लिएर हिनामिना गरेको पनि अभियोग उनीमाथि छ। सरकारलाई नोक्सानी र आफूलाई गैरकानूनी लाभ लिने काम गरेको भन्दै विष्टविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम साढे चार लाख बिगो र सोही अनुसारको जरिवानाका साथै कैदको समेत माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।  

त्यस्तै, अख्तियारले कञ्चनपुरकै सरस्वती माध्यमिक विद्यालयका शिक्षक इन्द्रसिंह थापाविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले अवैध शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएका थिए। थापाले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बाराणसी अन्तर्गतको ड्रमण्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तिर्ण गरेको भन्दै झुट्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग छ।

उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कारवाहीको पनि माग गरिएको छ।
 

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्