राष्ट्रपति भण्डारी दार्चुलाको मालिकार्जुनमा
दार्चुला, फागुन १५ : राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि ....

दार्चुला, फागुन १५ : राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि दार्चुला पुगेकी छन्।
मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उनलाई अभिनन्दन गर्न लागिएको हो। राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गरेका थिए।
सातौँ धामका रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्ने कार्यक्रम छ। सुदूरपश्चिम प्रमुख शर्मिलाकुमारी पन्त र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि दार्चुला पुगेका छन्।
मालिकार्जुन मन्दिर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल हो। भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये दोस्रो ज्योतिर्लिङ्ग मालिकार्जुनलाई मानिन्छ।
यस क्षेत्रमा दार्चुला जिल्लाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्छन्। सरकारले पर्यटकीय गन्तव्यको एक सय सूचीमा यसलाई समावेश गरेको छ।
यो शैल्यशिखर मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमामा पर्छ। राष्ट्रपतिको भ्रमणका अवसरमा ती दुई स्थानीत तहले आज बिदा दिएका छन्।











