रवीन्द्र अधिकारीको सम्झनामा पर्यटन पुरस्कार घोषणा
काठमाडौं, फागुन १५ : ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा पर्यटन....

काठमाडौं, फागुन १५ : ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा पर्यटन पुरस्कार स्थापना हुने भएको छ।
बिहीबार मन्त्रालयमा आयोजित प्रथम स्मृति सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘रविन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषण गरेका हुन्। पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने उनले बताए।
अधिकारीको जन्मदिनको अवसरमा पुरस्कार वितरण गर्ने तयारी भएपनि कार्यविधि बन्न बाँकी रहेकाले अर्को वर्षदेखि फागुन १५ गते पुरस्कार वितरण हुने उनले बताए। कार्यविधि बनेपछि पुरस्कार राशि पनि खुलाइनेछ।
२०७५ फागुन १५ गते अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे गरि सात जनाको मृत्यु भएको थियो।











