Kathmandu Press

मुलुक छोड्ने कल्पना पनि गरेकी छैन : सुजाता कोइराला

काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले देशले दिएको इज्जत र प्रतिष्ठाको गुण तिर्न धेरै बाँकी रहेकाले आफूले मातृभूम....

मुलुक छोड्ने कल्पना पनि गरेकी छैन : सुजाता कोइराला

काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले देशले दिएको इज्जत र प्रतिष्ठाको गुण तिर्न धेरै बाँकी रहेकाले आफूले मातृभूमि छोड्ने कल्पना समेत नगरेको बताएकी छन्।

अनेकौं प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै नेतृ कोइरालाले भनिन्, ‘देश छोड्ने कल्पनाभन्दा बाहिरको विषय हो। मेरा लागि सबैभन्दा प्रिय यो देश हो, म कसरी छाड्न सक्छु? मर्नुपरे पनि नेपालमै मरौंला।’ 

उनले मुलुक छोडेर बेलायतमा बस्ने तयारी गरेको भन्दै केही सञ्चामाध्यममा समाचार आएपछि दुःख लागेको बताइन्। नेपाल र नेपालीको मायाले आफू क्यान्सर मुक्त भई नयाँ जीवन पाएको उल्लेख गर्दै उनले भनिन्, ‘मलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ। उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु। बाँकी जीवन पनि नेपाल र नेपालीको सेवामा समर्पित गर्नेछु।’

उनले नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताइन्। अहिले सामाजिक काममा बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको उनको भनाइ थियो।

नेपालमा जुन प्रतिष्ठा र इज्जत मिलेको छ त्यसको गुण तिर्न बाँकी रहेको बताउँदै नेतृ कोइरालाले भनिन्, ‘मैले पदमै बसेर मात्र शक्तिशाली भइन्छ भन्ने ठानेकी छैन, देशका लागि आफू जुन स्थानमा रहिन्छ त्यहीँबाट पनि सेवा गर्न सकिन्छ।’

 

प्रकाशित मिति: १०:४४ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्