सेना जनताको आस्था र भरोसाको केन्द्रविन्दु : प्रधानसेनापति थापा
बुटवल, फागुन १४ : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको ब....

बुटवल, फागुन १४ : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताएका छन्।
रुपन्देहीको बुटवल रामनगर ब्यारेकमा बुधबार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको बताएका हुन्।
“बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसमेत रहनैपर्छ,”प्रधानसेनापति थापाले भने।
उनले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने र ऐतिहासिक पर्यटनको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले सेवानिवृत्त सैनिकको सामाजिक पहिचान र आर्थिक विकासका लागि शिक्षा, स्वास्थ्यको पहुँच विस्तारमा जोड दिइएको बताए।











