Kathmandu Press

सरस्वती क्लबका कप्तान दीपेशमाथि दुई वर्षको प्रतिबन्ध

काठमाडौं, फागुन १४ : दुई साताअघि सकिएको सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबको नेतृत्व गरेका दीपेश श्रेष्ठ दुई वर्षे प्रतिबन्धमा परेका छन्।

....
सरस्वती क्लबका कप्तान दीपेशमाथि दुई वर्षको प्रतिबन्ध

काठमाडौं, फागुन १४ : दुई साताअघि सकिएको सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबको नेतृत्व गरेका दीपेश श्रेष्ठ दुई वर्षे प्रतिबन्धमा परेका छन्।

म्याच फिक्सिङमा दोषी पाइएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दीपेशलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो। म्याच फिक्सिङमा संलग्न रहेको पाइएपछि दीपेशलाई दुई वर्ष एन्फाको प्रतियोगिता र एन्फाबाट स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ। साथै उनलाई ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।

ए डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पाविरुद्धको खेलअघि शेर्पाका खेलाडीलाई फिक्सिङको प्रस्ताव गरेको आशंकामा एन्फाको अनुशासन  समितिले अनुसन्धानका लागि दीपेशलाई तीन खेलमा निलम्बन गरेको थियो। नेपाली फुटबल इतिहासमा म्याच फिक्सिङमा एन्फाले कारवाही  गरेको यो पहिलो पटक हो। 

यसैगरी, हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीलाई पनि प्रतिबन्ध लगाएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। उनका अनुसार पुडासैनीलाई तीन महिना प्रतिबन्ध र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ। 

यस्तै, एन्फाले हिमालयन शेर्पाकै गोलकिपर प्रशिक्षक मिन बस्नेतलाई चेतावनी दिँदै एक पटकलाई सुध्रिने मौका दिएको छ।
 

प्रकाशित मिति: १७:२३ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्