मुख्य सडकका ९९ प्रतिशत खाल्डा पुरिए
काठमाडौं फागुन १४ : उपत्यकाको मुख्य सडकका खाल्डाखुल्डी पुर्ने काम ९९ प्रतिशत पुरा भएको सडक विभागले जनाएको छ। गत मंसिरदेखि दैनिक रुपमा सडकका खाल्डा भर्....

काठमाडौं फागुन १४ : उपत्यकाको मुख्य सडकका खाल्डाखुल्डी पुर्ने काम ९९ प्रतिशत पुरा भएको सडक विभागले जनाएको छ। गत मंसिरदेखि दैनिक रुपमा सडकका खाल्डा भर्ने काम भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरका क्रममा दिएका निर्देशन अनुसार सडकको खाल्डा पुर्ने काम तिब्र रुपमा थालिएको थियो। जस अनुसार गत मंसिरदेखि हालसम्म मुख्य सडकका ९९ प्रतिशत खाल्डा पुरिसकेको सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए।
कंकलीबाट भक्तपुरसम्म, त्रिपुरेश्वरबाट नारायणथानसम्म, रत्नपार्कबाट मैतीदेवीहुँदै सिनामंगलसम्म, कमलपोखरीबाट रातोपुल हुँदै गौशलासम्म, माइतीघर मण्डला वरीपरी नारायणहिटी दरवार वरीपरी, गौरीधाराबाट बालुवाटार निस्किने सडक, कंलकीबाट गोपीकृष्णहलसम्मको चक्रपथ रिङरोडका खाल्डाखुल्डी पुरिएको छ। उक्त सडक खण्डका खाल्डा पुर्न ३३ करोड रुपैयाँ खर्च भएको उनले बताए।
दैनिक खाल्डाखुल्डी पुर्ने टोली खटाइएकोले उक्त सडकखण्ड भित्रका ठाउँमा कही खाल्डो देखिएमा फोनमार्फत विभागमा जानकारी गराउन सक्ने उनले बताए।
विभागले उपत्यकाको मुख्य सडकका खाल्डाखुल्डी पुर्न चालु आर्थिक वर्षको लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।
सडक विभागले मुख्य सडक मात्र हेर्ने भएकाले भित्रि सडक मर्मतको जिम्मा महानगरपालिकाको रहेको विभागले जनाएको छ।











