अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछन् : अर्थमन्त्री महत
उनले प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको बताए।चितवन, असोज २० : अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे। ‘अब आर्थिक संकटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन,’ उनले भने।
आर्थिक संकटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको बताए।
डा. महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए। उनले भने, ‘व्यक्तिले जथाभावी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको सङ्कट टर्छ।’
अर्थमन्त्री डा. महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे। उनले गतल प्रचारका कारणले देश जटिलतातर्फ धकेलिएको उनले बताए।