मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
काठमाडौं, फागुन १३ : पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून च....

काठमाडौं, फागुन १३ : पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । 'अहिलेको प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन', उनले भने।
उनका अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यसलाई हेर्दा अब प्रि–मनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म रहने गर्छ । त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ।
हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ।
राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहन बताइएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव २ र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनसमा झरेको छ।











