विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री महत
‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रँदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो।’काठमाडौं, असोज १२ : अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन्।
शुक्रबार चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले देशको विकास र समृद्धि सिर्जनाका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी रहेको बताए।
‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार–जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन्,’ उनले भने, ‘तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ।’
उनले देशको अर्थतन्त्र विस्तारै लय फर्कँदै गरेको दाबी गरे। उनले भने, ‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रँदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो।’
लयमा फर्कँदै गरेको अर्थतन्त्रलाई विस्तारै सुरक्षित अवतरण गराउनु पर्ने उनले बताए। ‘ केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ। सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ,’ उनले भने, ‘विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ।’
‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्,’ मन्त्री डा. महतले भने। सबैले नकरात्मक कुरा गर्दा आत्मविश्वास घट्ने भन्दै उनले अब सकरात्मक बहस चलाउन थाल्नुपर्ने बताए ।
अर्थमन्त्री महतले रेमिट्यान्स धेरै आइरहेको बताउँदै त्यो पैसा चलायमान हुनुपर्ने जोड दिए।