केन्द्रीय सदस्य हुमागाईलाई काभ्रे कांग्रेसको सम्मान
बिहिबार बनेपास्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली कांग्रेस काभ्रे, क्षेत्रीय कार्यसमिति, नेपाल तरुण दल लगायत भातृ संस्थाहरुले सम्मान गरेका हुन् ।काठमाडौं, असोज १२ : दोस्रो पटक केन्द्रीय सदस्य बनेका नेता शिवप्रसाद हुमागाईलाई नेपाली कांग्रेस काभ्रेले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
बिहिबार बनेपास्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली कांग्रेस काभ्रे, क्षेत्रीय कार्यसमिति, नेपाल तरुण दल लगायत भातृ संस्थाहरुले सम्मान गरेका हुन् ।
१३ औं महाधिवेशन पछि केन्द्रीय रहिसकेका हुमागाईलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
वि.सं. २०३६ सालमा विधार्थी आन्दोलनमा सहभागी भएर राजनीति शुरु गरेका शिवप्रसाद हुमागाईले २०३६ सालमा नै कांग्रेसको सदस्यता लिएका थिए । शिक्षण पेशा समेत अंगालेका हुमागाईले बहुदलको पक्षमा जनमत संग्रहको प्रचार प्रसारको डाँडापारी क्षेत्रमा नेतृत्व गरेका थिए ।
२०३६ देखि २०३९ साल सम्म नेविसंघ र शिक्षक संघको जिल्ला कार्यसमिति सदस्य भएका उनी २०३८ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधी भइसकेका थिए । २०३९ देखि २०४१ सालसम्म नेविसंघ काभ्रेको सचिव भएर काम गरेका उनले २०४२ देखि २०४६ सालसम्म नेविसंघ जिल्ला सभापतिको रुपमा नेतृत्व गरे ।
२०४८ देखि २०५१ सालसम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सचिवको एकैसाथ जिम्मेवारी निभाएका हुमागाई २०५२ साल फाल्गुन ३० गते पहिलो पटक कांग्रेस जिल्ला सभापति निर्वाचित भएका थिए । २०५३ साल वैशाख १५ गते पुनः भएको अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए ।
२०५६ सालमा प्रतिनिधी सभा सदस्य निर्वाचित भएका उनले काभ्रे क्षेत्र नं २ बाट २५ हजार ३ सय ९० मत प्राप्त गरी नेकपा एमालेका तत्कालिन स्थायी समिति सदस्य केशव बडाललाई पराजित गरेका थिए ।
२०६२–२०६३ सालको जनआन्दोलनको बलमा पुर्नस्थापित संसदमा उनी सदस्य थिए । २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्रत्यासी रहेका उनले २०७४ सालमा भएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा जिल्लाको चुनावी कमाण्ड सम्हालेका थिए ।
२०५८ देखि २०६१ सालसम्म पार्टीको केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर काम गरिसकेका उनी पाँचौ जिल्ला अधिवेशनबाट पुन सभापतिमा निर्वाचित भएका थिए । २०६७ साल साउन १७ गते सम्पन्न छैठौ जिल्ला अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए । १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । श्रमिक तथा टेड युनियन विभागको संयोजकको रुपमा उनले भुमिका निर्वाह गरेका थिए ।
प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फका उम्मेदवार रहेका उनी २०४२ सालको सत्याग्रहमा नख्खु जेलमा बसेका उनले पटक–पटक जेल जीवन विताएका छन् । २०६२/६३ सालको जनआन्दोलनमा उनकै नेतृत्वमा बागबजारमा कफ्र्यु तोडिएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईले काभ्रे कांग्रेसको शाख र इज्जत जोगाउने गरी काम गर्ने भन्दै सबैलाई उत्साहित भएर संगठन निर्माणमा लाग्न निर्देशन दिए । एकता र अनुशासन बिना कुनै संस्था सफल नहुने भन्दै उनले काभ्रे कांग्रेस एकजुट भएर वडातह देखिका निर्वाचन जित्ने गरी अघि बढ्नुपर्ने बताए ।