दुई महिनाको व्यापार घाटा २३ करोड ३३ लाख रुपैयाँ
चाडपर्वलाई लक्षित गरी सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने यस आवको भदौ महिनामा आयातमा कमी देखिएको छ।काठमाडौं, असोज ७ : चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा व्यापार घाटा २३ करोड ३३ लाख दुई हजार रुपैयाँ पुगेको छ।
भन्सार विभागले आइतवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म गत आर्थिक वर्षको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ। विभागका अनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्म २४ करोड ४९ लाख १९ हजार रुपैयाँ व्यापार घाटा थियो। चालु आर्थिक वर्षको भदौसम्म २५ करोड ९७ लाख ४९ हजार रुपैयाँको आयात भएको छ भने दुई करोड ६४ लाख ४७ हजार रुपैयाँको निर्यात भएको छ।
चाडपर्वलाई लक्षित गरी सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने यस आवको भदौ महिनामा आयातमा कमी देखिएको छ। गत भदौमा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ। गत वर्षको भदौ महिनामा १ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको थियो।
यस आवको पहिलो दुई महिनामा कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। जुन् अघिल्लो आवको यसै अवधिको तुलनामा ५.०६ प्रतिशतले कमी हो। यो तथ्याङ्कले असोज र कात्तिक महिनामा पर्ने मुख्य चाडबाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी हुने सबैभन्दा धेरै वस्तु आयात भदौमा हुने गरे पनि यस बर्ष उत्साहजनक अबस्था छैन।
पछिल्लो दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालबाट झण्डै ४५ अर्ब रुपैयाँ बाहिरिएको छ। भारतबाट आइरन र स्टील २४ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ। तरकारीजन्य वस्तु मात्र ५ अर्बको आयात भएको छ।