भारत-क्यानडा विवाद : क्यानडामा रहेका आफ्ना नागरिकलाई भारतले सतर्क गरायो
भारत र क्यानाडाबीच तनाव बढीरहेका बेला भारतको विदेश मन्त्रालयले बुधबार एक ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सतर्क गराएको हो।काठमाडौं, असोज ३ : भारतले क्यानडामा रहेका र क्यानडा जान चाहने आफ्ना नागरिकलाई सावधानी अपनाउन भनेको छ।
भारत र क्यानाडाबीच तनाव बढीरहेका बेला भारतको विदेश मन्त्रालयले बुधबार एक ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सतर्क गराएको हो।
सुरक्षा वातावरणलाई ध्यानमा राख्दै भारतको विदेश मन्त्रालयले आफ्ना नागरिक र भारतीय विद्यार्थीहरूलाई लक्षित गरी सावधानी अपनाउन भनेको छ। मन्त्रालयले क्यानाडामा बढ्दो भारत विरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै ‘अत्यन्त सावधानी’ आग्रह गरेको हो।
भारतीय विदेश मन्त्रालयको ट्राभल एडभाइजरीमा हालैका धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको जनाइएको छ।
क्यानाडामा घटनाहरू देखिएका क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न भारतीय नागरिकहरूलाई सल्लाह दिइएको छ। साथै, क्यानाडामा रहेको भारतीय वाणिज्य दूतावासले त्यहाँ रहेका भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्ने पनि एडभाइजरीमा जनाइएको छ।