चाडपर्वमा अत्यावश्यक वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारलाई निर्देशन
काठमाडाैं, भदाै ३१ : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी, चामल र गहुँजस्ता अत्यावश्यक वस्तुको अभाव हुन नदिन कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले चाडपर्वमा चिनी, चामल र गहुँजस्ता अत्यावश्यक वस्तुको अभाव हुन नदिन मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति उपलब्ध गराउन निर्देशन दिएको हो।
बैठकले नजिकिँदै गरेका चाडपर्वका समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी ‘कार्टेलिङ’ प्रणालीलाई निरुत्साहित गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बैठकले कृत्रिम अभाव, कालोबजारी, गैरकानुनी भण्डारण, अस्वभाविक मूल्यवृद्धिजस्ता अनियमित गतिविधि रोक्न उपभोग्य वस्तुको बजार अनुगमन गर्ने कार्यका लागि पर्याप्तमात्रामा जनशक्ति र स्रोतसाधनको व्यवस्था गरी अनुगमनलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति अब्दुल खाणले जानकारी दिए।
बैठकले मुलुकक बिभिन्न स्थानमा सुपथ मूल्य पसल खोली उपभोक्तालाई सुपथ, सस्तो र गुणस्तरीय उपभोग्य सामान उपलब्ध हुने व्यवस्था मिलाउन पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ भने दशँै तिहार तथा छठ पर्वलाई लक्षित गरी हुने कालोबजारी, मूल्यवृद्धि, मिसावट, कृत्रिम अभावलगायत विषयमा समितिले स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको उनले बताए।
बैठकमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दैनिक उपभोग्य वस्तुको आपूर्तिको स्थिति सहज भए पनि बजारको स्थिति समस्याग्रस्त रहेको बताए। उनले अस्वभाविक मूल्यवृद्धिको मारमा जनता बस्नु परेको धारणा राखे।
त्यस्तै समिति सदस्यहरुले चिनीको माग, उत्पादन र आपूर्तिको उचित मूल्याङ्कन गर्न, बजार अनुगमनलाई तीव्र पार्न सुझाव दिएका छन्।