सीपी गजुरेलले भने,‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि हात छ’
काठमाडौं, फागुन ११ : देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्....

काठमाडौं, फागुन ११ : देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि हात रहेको आरोप लगाएका छन्।
काठमाडौंमा आइतबार आयोजित साक्षात्कारमा गजुरेलले सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको थाहा हुँदा पनि प्रधानमन्त्री ओलीले गुपचुप राख्नुले कुनै न कुनै हात रहेको पुष्टि हुने आरोप लगाएका हुन्।
उनले भने,‘यदि स्वीस कम्पनीसँग अन्तरविरोध नभएको भए ठूलो मात्रामा भ्रष्टाचार हुन लागेको रहेछ। २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पु¥याइएको रहेछ। यत्रो ठूलो रकम खाने योजना रहेछ।’ गजुरेलले बाँस्कोटाको ७ वटा योजनामा एक खर्ब खाने योजना रहेको कुरा पनि मिडियामा आएको बताए। उनले भने,‘मन्त्रीहरुको एक खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने योजना हुन्छ। अनि हामीले देश विकास होला भनेर कसरी कल्पना गर्छौं।’
उनले वर्तमान सरकार नै भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाए। ‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको पनि उनको टिप्पणी छ। उनले भने,‘सरकारका मन्त्री नै यसरी भ्रष्टाचारमा लिप्त भएपछि मुलुकको यो अवस्था हुनु त सामान्य नै भयो नि।’
उनले बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानविन हुनुपर्ने र यसको जिम्मा प्रधानमन्त्री ओलीले पनि लिनुपर्ने माग गरे। उनले भने,‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन।’
गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्री कहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै प्रश्न गरे।











