सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको बाँस्कोटा काण्डले पुष्टि गर्यो : महत
काठमाडौं, फागुन ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ....

काठमाडौं, फागुन ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भएको बताएका छन्।
सहमहामन्त्री डा. महतले वर्तमान सरकारको भ्रष्टाचारबारे बाँस्कोटाको टेप प्रकरण त सानो इपिसोडमात्रै भएको टिप्पणी गरेका हुन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो सरकारको अरु धेरै काण्डहरु छन्। अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन्। सरकारले जनतालाई नारामात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो।’
उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौं काण्डमा फसेको आरोप लगाए। उनले भने,‘गोकुल बाँस्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ। यो प्रकरणमा गम्भिर छानविन हुनुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जवाफ दिनुपर्छ। हामीले यो प्रकरणमा विरोध गरिरहेका छौं। प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन सबै भ्रष्टाचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ। समग्र काण्डमा निष्पक्ष र स्वतन्त्र छानविन हुनुपर्छ।’
बाँस्कोटाबारे प्रधानमन्त्री ओलीले तुलोको एकातिर गोकुल र अर्कोतिर सबै राख्दापनि गोकुल नै भारी हुने भनेर बोलेको कुराबाट पनि भ्रष्टाचारमा गोकुल एक्लैको हात नभएको उनको टिप्पणी छ। उनले भने,‘अहिले त प्रधानमन्त्रीलाई आफ्नो बोली आफैंलाई भारी भएको छ। यो सरकार काम चाहीँ उल्टो उल्टो गरिरहेको छ। कामभन्दा बढी गफ गरिरहेको छ।’
फरक प्रसंगमा डा. महतले एमसीसी नेपालको हितमा रहेकाले संसदबाट अनुमोदन गर्नुपर्ने बताए।











