२२० केभी डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा
प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको कामले गति लिएको हो।नवलपरासी, भदौ २८ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलबाट बर्दघाटसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइन क्षेत्रका रुख कटानको अनुमति पाएसँगै निर्माणको कामले गति लिएको छ।
प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको कामले गति लिएको हो।
भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरबाट नवलपरासीको बर्दघाटसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरेका थिए। सोही प्रसारण लाइनमा अहिले निर्माण भइरहेको विद्युत् प्रसारण लाइन बर्दघाट पुगेर जोडिने छ।
यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रसारण लाइन निर्माणका लागि म्याद थप गर्नुपरेको थियो। गत वर्षको भदौ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न एक वर्षको समय थपिएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताए।
‘एक्काइस किलोमिटर लामो प्रसारण लाइनअन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिए पनि दोस्रो सर्वेक्षणले कममात्रै रुख कटान गर्नुपर्ने निष्कर्ष निकालेपछि अनुमतिमा ढिलाइ भएको थियो,’ उनले भने।
दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकामा हालसम्म दुई हजार रुख कटान भइसकेको छ। उक्त प्रसारण लाइन विस्तार क्षेत्रमा कुल पाँच हजार आठ सय रुख कटानको अनुमति प्राप्त भएको आयोजना प्रमुख मिश्रले बताए।
नवलपरासीको सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा यसअघि नै एक अर्ब ८० लाखको लागतमा न्यू बुटवल सबस्टेसन निर्माण भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन भरतपुरसम्म जोड्ने योजना अधुरो बनेको थियो।