Kathmandu Press

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, फागुन ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा  पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्त....

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, फागुन ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा  पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

आइतबार सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु सिवाकोटीले बाँस्कोटाविरूद्ध अख्तियारमा उजुरी दिएका हुन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुस मागेको अडियो सार्वजनिक भएको उल्लेख गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ अनुसार, कारबाही गर्न माग गरिएको छ। ऐनको परिच्छेद २ को भ्रष्टाचारसम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) मा ‘राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सोसम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न रिसवत लिएमा वा लिन मञ्जुर गरेमा देहाय बमोजिमको रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार देहाय बमोजिम कैद र बिगो बमोजिम जरिबाना हुनेछ’ भन्ने उल्लेख छ।

जसमा एक करोड रुपैयाँभन्दा बढी घुसमा आठ वर्षदेखि दश वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ। यससँगै संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीलाई थप सजायको व्यवस्था गरिएको छ।

निवेदनमा पूर्वसञ्चारमन्त्री बाँस्कोटालाई भ्रष्टाचारको कसुरमा छानविन गर्ने प्रष्ट आधार देखिने भएकोले निज उपर आवश्यक छानविन गरी यस ऐनमा व्यवस्था भए बमोजिमको हदैसम्मको कारबाही गर्न माग गरिएको छ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, फागुन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्