गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट दिँदैन: प्रचण्ड
नवलपुर, फागुन १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्।
....
नवलपुर, फागुन १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्।
प्रेस सङ्गठन नेपाल नवलपुरले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन्।
“सञ्चारमन्त्रीका विषयमा आएको कुराबारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ”, उनले भने, “अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन्। गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ। म अहिले यति मात्रै भन्न चाहन्छु।”
प्रचण्डले अहिले चर्चामा रहेको एमसीसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले हिजो मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए। कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उनले बताए। रासस











