मण्डनदेउपुरमा निःशुल्क स्वास्थ्य शिविर
काभ्रे, भदौ २४ : काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ।
दुई दिनसम्म चल्ने सो स्वास्थ्य शिविरको उपप्रमुख विष्णुमणि नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे। शिविरमा मुटुरोग, अकुपञ्चर, स्त्रीरोग र जनरल परीक्षण सेवा प्रदान भइरहेको छ।
शिविरको शुभारम्भ गर्दै उपप्रमुख नेपालले आधारभूत अस्पतालको सेवा सुविधालाई थप नागरिक मुखी बनाउन आफुहरु लागिरहेको बताए। ‘हाम्रो आधारभूत अस्पतालमा अहिले नै विशेषज्ञ सेवा नियमित रुपमा सञ्चालन गर्न सकिने अवस्था छैन्,’ उलने भने, ‘तर हामीले विभिन्न संघ संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविर मार्फत विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छौँ। अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने काम पनि भइरहेको छ।’
नेपाल सरकारले आधारभूत अस्पतालका लागि तोकेको सेवा र त्यसमा नगरपालिकाले केही थप गरेर नगरबासीका लागि स्वास्थ्य उपचार दिइरहेको उपप्रमुख नेपालले बताए । अस्पताल सञ्चालनमा आएपछि समान्य उपचारका लागि समेत बनेपा, धुलिखेल जानुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाई थियो।
स्वास्थ्य शिविरका संयोजक नारायणकृष्ण श्रेष्ठले आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुसार शिविर सञ्चालन गरिएको बताए। श्रेष्ठले मण्डनदेउपुर नगरपालिकाको विभिन्न ठाउँमा विगत लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइहरेका छन्।
वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले शिविरले रोग पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उलने भने, ‘यति जाँच गर्न पनि अन्य अस्पताल जानु पर्यो भने निकै खर्च लाग्छ । तर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य जाँच गर्न पाउन पनि अवसरको कुरा हो।’
अस्पतालका प्रमुख डाक्टर दिल बहादुर थोकरले अस्पतालबाट स्थापनाको एक वर्षे अवधिमा ८ हजारभन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको बताए। शिविरलाई स्थानीय स्तरमै विशेषज्ञ सेवा प्राप्त गर्ने अवसरका रुपमा लिनुपर्ने डाक्टर थोकरको भनाई थियो।
नगरपालिकासंगको समन्वयमा कर्मा लेक्सी लिंग, लक्की थांका, होटल ट्रेडिसन एण्ड एसपीए, हिमालयन शप र स्पोर्ट टुर एण्ड ट्राभल्सले शिविरको आयोजना गरेको हो ।