राजेन्द्र श्रेष्ठले रोके वित्त र समावेशी आयोगको नियुक्ति
काठमाडौं, फागुन ७ : संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठले संसदीय समितिको बैठकमा वित्त आयोग र समावेशी आयोगका अध्यक्षलाई नियुक्त गर्ने निर्णयका पक्ष....
काठमाडौं, फागुन ७ : संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठले संसदीय समितिको बैठकमा वित्त आयोग र समावेशी आयोगका अध्यक्षलाई नियुक्त गर्ने निर्णयका पक्षमा पार्टीलाई नसोधी हस्ताक्षर गर्न नमिल्ने बताएपछि समितिको बैठक बिना निर्णय सकिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल र समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई नियुक्तिको लागि सिफारिश गर्ने निर्णय सोमबारै गरे आफूले ‘नोट अफ डिसेन्ट’ लेख्ने अडान राखे । दुवै जना पूर्वसचिवलाई नियुक्तिका लागि सिफारिश गर्नेबारे समितिमा एकमत भए पनि श्रेष्ठले मान्दै नमानेपछि समितिको बैठक फागुन ९ गते बस्ने गरी स्थगित भएको छ । बैठक नेपाली कांग्रेसका सदस्यहरूले भने बहिष्कार गर्दै आएका छन् ।
समितिको बैठकमा सुवेदीको सुनुवाइ भने रोचक भएको थियो । सुवेदीले वित्त आयोगका लागि आवेदन दिए पनि समावेशी आयोगमा संवैधानिक परिषद्ले समावेशी आयोगका सिफारिश गरेका थिए । उनले आफूले कर्णालीलगायत पिछडिएको क्षेत्रमा बजेट विनियोजन गरेर समावेशीतालाई योगदान गरेको बताएका थिए ।
मधेशी, दलित, मुस्लिम, थारु, महिला, आदिवासी जनजाति सबै क्षेत्रको बेग्लाबेग्लै आयोग भएकाले समावेशी आयोग ‘खसआर्य’ का लागि मात्र भएकाले यो आयोगको अध्यक्षमा सुवेदी उपयुक्त व्यक्ति भएको भन्दै नेकपाका सांसद्हरूले हाँसो पनि गरेका थिए । संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठले भने समावेशीताका लागि योगदान गरेको व्यक्ति नभएको भन्दै उनको योग्यतामा प्रश्न गरेका थिए । पौडेल र सुवेदी दुवै अस्वीकृत हुने संभावना नरहे पनि समितिको सर्वसम्मतिका लागि अर्को बैठकसम्म श्रेष्ठलाई कुरेको नेकपाका एक सांसद्ले बताए ।






