Kathmandu Press

महिला पत्रकार भन्छन्,‘ढुक्क भएर काम गर्ने वातावरण छैन’ 

काठमाडाैं, फागुन ९ : फोेटो पत्रकारिता विधामा कार्यरत महिला पत्रकारहरुले पत्रकारिता क्षेत्रमा ढुक्क भएर काम गर्ने वातावरण नभएको बताएका छन्।

....
महिला पत्रकार भन्छन्,‘ढुक्क भएर काम गर्ने वातावरण छैन’ 

काठमाडाैं, फागुन ९ : फोेटो पत्रकारिता विधामा कार्यरत महिला पत्रकारहरुले पत्रकारिता क्षेत्रमा ढुक्क भएर काम गर्ने वातावरण नभएको बताएका छन्।

उनीहरुले अहिले पनि घरपरिवार र समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकाले पत्रकारिता क्षेत्रमा महिलाहरुको सहभागिता कम रहेको बताएका हुन्।

नेपाल पत्रकार महासंघ महिला समितिले आयोजना गरेको 'महिला फोटो पत्रकारको चुनौती र नेपाल पत्रकार महासंघको दायित्व' विषयक कार्यक्रममा सहभागी फोटो पत्रकार प्रेरणा शाक्यले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पहिल्यै घरैवाट सुरु भएको संघर्ष कार्यस्थल र समाजमा पनि गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘महिलामैत्री वातावरण, उचित पारिश्रमिकको अभावमा पत्रकारितामा महिला क्रियाशिलतामा कमी आएको छ।’

पत्रकार उषा तिवारीले फोटो पत्रकारिता गर्दा आफ्नो लगानीसहित गर्नु पर्ने र त्यो लगानी उठ्ने गरी पारिश्रमिक पाउन नसकेको गुनासो गरिन्। 

नेपाल टेलिभिजनकी क्यामेरापर्सन ममता कोइरालाले सहअस्तित्वका लागि आफूहरु पत्रकारिता क्षेत्रमा क्रियाशील भएको बताइन्। 

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुलाई टिकाइ राख्न श्रमको उचित मूल्य र सञ्चार संस्थामा महिलामैत्री वातावरण आवश्यक हुने बताए।

उपाध्यक्ष पोख्रेलले पत्रकारिता पेशा सामाजिक उत्तरदायित्वसहितको चुनौतिपूर्ण काम भएकाले कानून र अन्य कुराले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भए मान्य नहुने बताए। ‘फोटो पत्रकारिता गर्दा सुरुमै पत्रकार स्वयमले लगानी गरेर सुरु गर्नु पर्ने हुन्छ। त्यसकारण त्यो लगानी उठ्ने गरी फोटो पत्रकारले पारिश्रमिक पाउने प्रावधानको सुनिश्चितता आवश्यक पर्दछ,’उनले भने।

पत्रकार महासंघले पत्रकारिता गर्नसक्ने वातावरण निर्माण गर्न र श्रमको मूल्य सुनिश्चित गर्न आवाज उठाउँदै आएको उनले बताए। 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले पत्रकारितामा चुनौतीसहित अवसर पनि भएको बताए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव तथा महिला विभाग संयोजक लक्ष्मी पुनले महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा टिकाई राख्न नीतिगत, संस्थागत वा सीप क्षमता विकास कार्यक्रम ल्याउन आफूहरुले महासंघमा पहल गरिरहेको बताएकी थिइन्। 

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्