Kathmandu Press

एसिड आक्रमणका पीडित भन्छन्– जिन्दगी कुरूप बनाइदिनेलाई सजायबापत एडिस नै हान्नुपर्छ

काठमाडौं, फागुन ९ : नेपालमा हालसम्म भएका २६ वटा एसिड आक्रमणको घटनाबाट १३ महिला र तीन पुरुष पीडित छन्। जिन्दगी कुरुप बनाउने एसिड आक्रमण गर्नेलाई फितलो ....

एसिड आक्रमणका पीडित भन्छन्– जिन्दगी कुरूप बनाइदिनेलाई सजायबापत एडिस नै हान्नुपर्छ

काठमाडौं, फागुन ९ : नेपालमा हालसम्म भएका २६ वटा एसिड आक्रमणको घटनाबाट १३ महिला र तीन पुरुष पीडित छन्। जिन्दगी कुरुप बनाउने एसिड आक्रमण गर्नेलाई फितलो कानून व्यवस्थाले प्रशय दिइरहेको पीडितहरुको गुनासो रहेको छ। 

एम्नेस्टी इन्टरनेश्नल नेपालले शुक्रबार आयोजना गरेको एडिस हिंसाबारे बुह–सरोकारवालासँगको प्यानल छलफलमा एडिस आक्रमणका पीडित संगिता मगर र जेनी खड्काले एसिड आक्रमण गर्नेमाथि त्यसको बदलामा एसिड नै छ्याप्नुपर्ने माग राखेका हुन्। 

काठमाडौंको कालोपुलमा बस्दै आएकी जेनी खड्कामाथि  २०७६ जेठ १ गते उनकै श्रीमानले एसिड प्रहार गरेका थिए। आफूसँग छुट्टिएर बसेको भन्दै श्रीमान् विष्णु भुजेलले जेनीमाथि एसिड प्रहार गरेका थिए। ६ वर्षअघि प्रेम विवाह गरेका विष्णु र जेनीका एक सन्तान पनि छन्। 

विष्णुलाई नख्खुस्थित कारागारमा राखिए पनि अहिलेसम्म कुनै सजाय नतोकिएको उनले बताइन्। एसिडले  अनुहार पुरै नबिग्रिएकाले सजाय सुनाउन ढिला गरेको उनको बुझाइ छ।

एसिडले जेनीको दायाँतर्फको अनुहार, घाँटीदेखि छातीसम्म पूर्णरुपमा जलेकोे छ। कीर्तिपुर अस्पतालमा लामो उपचारपछि उनी अहिले बाहिर निस्कन थालेकी छिन्। एसिडको असर तत्कालभन्दा लामो समयपछि देखिने भन्दै उनलाई चिकित्सकले खतरामुक्त नभएको बताएका छन्।

विष्णुले हिंसा स्वीकार गर्दासमेत सरकारले सजाय नसुनाएका कारण त्रासमा बस्नुपरेको जेनीले बताइन्।

‘नेपालमा बलियो कानून नभएकै कारण एसिड प्रहार बढिरहेको छ। अनुहार र छातीमा एसिड हान्नेलाई छुट्टै सजाय छ। अनुहार जलेपनि र छाती जलेपनि पीडा एउटै होइन र?,’उनले प्रश्न गरिन्। 

जेनी विगत १० महिनादेखि सजायको पर्खाइमा छिन्। सरकारले समयमै पीडितलाई न्याय र पीडकलाई सजाय नदिएकाले कानूनप्रतिको विश्वास फिक्का बन्दै गएको उनी बताउँछिन्। 

यस्तै, पीडा बोकेर हिँडेकी छिन् सीमा बस्नेत। एसएलसी परीक्षाको तयारीमा रहेका सीमामाथि २०७१ फागुन १० गते एसिड प्रहार भएको थियो।  उनीमाथि जीवन विकले एसिड छ्यापेका थिए। 

कानून बलियो नहुँदा पीडितलाई झन् पीडा र पीडकलाई सहजै उन्मुक्ति मिलिरहेको उनले बताइन्। एसिड आक्रमण भएको पाँच वर्ष बित्न लाग्दा पनि  समय–समयमा पत्रमार्फत विभिन्न धम्की आउने गरेको उनले बताइन्। 

‘योभन्दा कष्ठकर समय मेरा लागि के होला? जेलभित्र बसेको मान्छेबाट ज्यान मार्ने धम्की आएको सुन्नुपर्दा कस्तो होला?,’उनले भनिन्। 

अहिले संगिता र सीमाले आफूहरुले भोगेको जस्तो पीडा अरुले झेल्न नपरोस् भन्दै एसिड प्रहारविरुद्धको अभियान चलाएका छन्। एसिड प्रहार गर्नेहरुमाथि एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवानसहित ५ वर्ष जेल सजायको व्यवस्था कानूनले गरेको छ। तर, कार्यान्वयन भने हुन सकिरहेको छैन।

प्रत्येक १० महिनामा एडिस आक्रमणको घटना

वर्न भायोलेन्स नेपालका अनुसार नेपालमा सन् २०१० देखि हालसम्म २६ वटा एसिड आक्रमणका घटनाहरु भएका छन्। यो अवधिमा एसिड आक्रमणबाट १३ महिला र तीन पुरुष पीडित भएको तथ्याङ्क छ। 

महानगरीय प्रहरी परिसर टेुकुका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दका अनुसार पछिल्लो समय प्रत्येक १० महिनाको फरकमा एसिड आक्रमणका घटना हुने गरेका छन्। सजिलै र कम मूल्यमै पाइने, एसिडको बिक्री वितरणमा रोक लगाउन सरकार समक्ष पहल भइरहेको उनले जानकारी दिए।

‘धेरै जसो एसिड प्रहार सामान्य कुरालाई लिएर रिसको आवेगमा भएको देखिन्छ। युवा पुस्तामा देखावटी पे्रम सम्बन्धका कारण पनि समाजमा यस्ता आपराधिक घटना घटेका छन्,’उनले भने।
 

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्