मर्मतका लागि कालीगण्डकी विद्युत गृह बन्द
काठमाडौं, फागुन ९ : देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ....

काठमाडौं, फागुन ९ : देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिएको हो।
प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेदेखि विद्युत उत्पादन बन्द गरी मर्मत शुरु गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
नदीमा पानी घटेका कारण हाल दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको सो अर्धजलाशययुक्त आयोजना हरेक वर्ष मर्मतका लागि बन्द गरिँदै आएको छ । स्याङ्जाको मिर्मीमा रहेको सो आयोजनाको विद्युत गृहमा कूल ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको हो । केन्द्रबाट उत्पादित विद्युत पोखरा र बुटवलतर्फ प्रवाह गरिँदै आएको छ।
मुलुककै ठूलो विद्युत गृहबाट विद्युत उत्पादन बन्द भएपछि पश्चिम भेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुनसक्ने कार्यकारी निर्देशक घिसिङले बताए । उनले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको बिदालाई ध्यान दिएर मर्मत शुरु गरिएको जानकारी दिए।
बिदाको समयमा विद्युत माग कम हुने भएकाले यही समयलाई उपयोग गरिएको प्राधिकरणले जनाएको छ । उनले भने, 'खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युत गृहबाट पनि विद्युत उत्पादन केही बढेको छ, आम उपभोक्तालाई विद्युत आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोबस्ती गरेका छौँ, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत कटौती हुनसक्ने छ।' सो विद्युत गृहका प्रमुख पशुपतिराज गौतमले २४सै घण्टा काम गरेर मर्मतकार्य सम्पन्न गरिने जानकारी दिए । मर्मतमा ३७ प्राविधिक खटिएका छन्।











