Kathmandu Press

कम्युनिस्टहरू आफ्नो आदर्शबाट च्युत भएपछि आफैंलाई सिध्याउँदा रहेछन् : प्रचण्ड

काठमाडौं, फागुन ९ : आदर्शबाट च्युत भएपछि कम्युनिस्ट नेता र नेतृत्वले आफैलाई सिध्याउने गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएक....

कम्युनिस्टहरू आफ्नो आदर्शबाट च्युत भएपछि आफैंलाई सिध्याउँदा रहेछन् : प्रचण्ड

काठमाडौं, फागुन ९ : आदर्शबाट च्युत भएपछि कम्युनिस्ट नेता र नेतृत्वले आफैलाई सिध्याउने गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले विश्व इतिहासको प्रशंग निकाल्दै यस्तो बताएका हुन्। उनले पहिलो र दोस्रो युद्धमा ज्यान गुमाएको कम्युनिस्ट पार्टीका नेताहरू र कम्युनिस्ट नेतृत्व नै आफूले आफैंलाई सिध्याएको उदाहरण दिए।

‘कम्युनिस्टहरू आफ्नो आदर्शबाट च्युत भएपछि, आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति पनि चाहिँदो रहेनछ, सेना पनि चाहिँदो रहेनछ, बन्दुक पनि चाहिँदो रहेनछ। आफैंले आफैंलाई सिध्याउँदा रहेछन्,’ प्रचण्डले भने।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुस मागेको अडियो सार्वजनिक भएपनि गोकुल बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व इतिहासमा कम्युनिष्ट पार्टीको पतन हेर्दा नेपालमा पनि खतराका संकेत देखिएको बताए। ‘हामीले चाहे सोभियत संघको कुरा भनौं वा पूर्वी युरोपको कुरा, यस्ता परिघटना हामीले देख्यौं,’ प्रचण्डले भने।

उनले सचेत गराउँदै भने, ‘यसो हेर्दा हाम्रो पनि नियति त्यता जाने खतराका संकेत अहिले भइसकेका भन्या होइन, मेरो भनाइलाई बढी नबुझियोस् तर सङ्केत त त्यति राम्रा देखिएनन्। आजभोलि यसो घटनाहरू हेर्‍यो मान्छेहरू त बिग्रिने–बिग्रिनेतिर गएजस्तो देखिएको छ।’

उनले नेपालका कम्युनिस्ट संस्कृति, संस्कार, विचार, राजनीति प्रवृत्तिहरूमा थुप्रै समस्याहरु बढेको बताए। ‘कम्युनिष्ट पार्टी सत्तामा नहुँदा, आन्दोलनमा हुँदा, क्रान्तिमा हुँदा, निकै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुनसक्ने, जनता जहाँ बस्छन् त्यही बसेर खाएर जनताको मन जित्नचाहिँ सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै पात्रहरु विश्व इतिहासमा छन्,’ प्रचण्डले भने।

उनले नेपालमा पनि समस्या देखिन थालेको बताए। ‘नेपाली इतिहासमा पनि त्यसका संकेत र लक्षणहरु देखिने गरेका छन्। सत्तामा भइसकेपछि पद प्रतिष्ठा लोभ लालचा विभिन्न किसिमका विसंगति, विकृति भ्रष्टाचारजन्य कियाकलाप देखिन थालेका छन्,’ प्रचण्डले भने।

कम्युनिस्टहरू सत्तामा पुगेपछि जनताबाट टाढिने गरेको बताए। उनले नेपालको उदाहरण पनि पेश गरे। ‘हिजो मृत्युलाई सामना गरेर, जस्तोसुकै तपस्या गर्न तयार हुने, प्रतृक्रियावादीका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मानिस शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै हुने, जनताबाट अलिअलि कटेकोजस्तो हुने र जनभावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने गरेको छ,’ प्रचण्डले भने।

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, फागुन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्